Yes Nepal News

A complete Online News Portal from Nepal

गोरख बहादुर विष्ट ‘आनन्द’ को क्रेज : जेन–जीको भरोसा बढ्दो, झिलका १० युवा नेपाली कांग्रेस मा प्रवेश

कैलाली — कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ‘आनन्द’ को अभियानले युवापुस्तामा नयाँ ऊर्जा थपेको छ। विशेषतः जेन–जी मतदातामाझ उनको स्पष्ट एजेन्डा, प्रत्यक्ष संवाद र विकासप्रति प्रतिबद्धताले आकर्षण बढाउँदै लगेको देखिन्छ। यही क्रममा गौरीगंगा नगरपालिका–३, झिलका १० जना युवा औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
झिल वासुदेवमा आयोजित विशेष भेटघाट तथा प्रवेश कार्यक्रममा उम्मेदवार आनन्दले नवप्रवेशीहरू खेम थापा, जनक सिंह, विकाश साउद, राम साउद, सुरेश साउद, नवीन साउद, सुदन साउद, विक्की चौधरी, शेरबहादुर थापा र रुपेश जोशीलाई टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,
“युवाशक्ति बिना परिवर्तन सम्भव छैन। तपाईंहरूको सहभागिताले लोकतन्त्र बलियो बन्छ र विकासको गति तीव्र हुन्छ। क्षेत्र नम्बर ४ लाई नमुना क्षेत्र बनाउने हाम्रो संकल्पमा अब युवा पुस्ताको साथ थपिएको छ।”
नवप्रवेशी युवाहरूले शिक्षा सुधार, स्थानीय स्तरमै रोजगारी सिर्जना, सडक तथा आधारभूत पूर्वाधार विकास र पारदर्शी नेतृत्वको पक्षमा स्पष्ट दृष्टिकोण प्रस्तुत गरिरहेका आनन्दप्रति विश्वास व्यक्त गरे।
“हामी परिवर्तनको राजनीतिमा सहभागी हुन चाहन्छौं। क्षेत्र नम्बर ४ मा सकारात्मक नेतृत्व स्थापित गर्न ‘रूख’ चिन्हमा मतदान गर्नेछौं,” उनीहरूको भनाइ थियो।


स्थानीय विश्लेषकहरूका अनुसार पछिल्लो समय क्षेत्र नम्बर ४ मा युवा मतदाताको प्रभाव उल्लेख्य रूपमा बढेको छ। सामाजिक सञ्जालमार्फत सक्रिय संवाद, घरदैलो अभियान र प्रत्यक्ष भेटघाटले आनन्दप्रति आकर्षण तीव्र बन्दै गएको उनीहरूको आकलन छ।
कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा ठूलो संख्यामा युवाहरूको उपस्थिति रहेको थियो। निर्वाचन नजिकिँदै जाँदा यस प्रकारका प्रवेश र समर्थनले क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धालाई अझ चासोपूर्ण र गतिशील बनाएको राजनीतिक वृत्तमा चर्चा छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading