गेटा आँखा अस्पताल व्यवस्थापन समितिको बैठक विभिन्न निर्णयसहित सम्पन्न भएको छ। अध्यक्ष लोकराज जोशीको अध्यक्षतामा बसेको बैठकले कर्मचारी र व्यवस्थापन पक्षबीच उठाइएका माग तथा अस्पताल सञ्चालन सम्बन्धी विषयमा सहमति जनाएको हो।
बैठकले कर्मचारी पक्षले अघि सारेका मागमा दुवै पक्षबीच सहमति भइसकेको भन्दै त्यसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।त्यस्तै अस्पतालमा करार सेवामा रहेका दीर्घ चन्द, रमेशचन्द्र भट्ट र राजबहादुर चौधरीको करार अवधि थप नगर्ने तथा गोविन्दराज जोशीलाई अन्यत्र सरुवा गर्न केन्द्रीय कार्यसमितिलाई अनुरोध गर्ने निर्णय गरिएको छ।
बैठकबाट अस्पतालका आर्थिक, प्रशासनिक तथा प्राविधिक गतिविधिको हरेक वर्ष सार्वजनिक सुनुवाइ (Social Audit) गर्ने, आवश्यक रिक्त दरबन्दीमा तत्काल पदपूर्ति प्रक्रिया अघि बढाउने र खरिद प्रक्रिया अस्पतालको प्रचलित नियमावलीअनुसार सञ्चालन गर्ने सहमति भएको छ।यस्तै अस्पतालको प्रशासनिक तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने, नियमित अनुगमन तथा गुनासो व्यवस्थापनलाई व्यवस्थित गर्ने निर्णय गरिएको छ।
बैठकले गोदावरी नगरपालिका र अस्पताल आसपासका वडालाई प्राथमिकतामा राखी नेपाल नेत्र ज्योति संघको आजीवन सदस्यता वितरण प्रक्रिया सहज र पारदर्शी बनाउन केन्द्रमा प्रस्ताव पठाउने निर्णय पनि गरेको छ।
बैठकमा भएका सहमतिअनुसार उल्लेखित मागहरू एक महिनाभित्र कार्यान्वयन नभए अस्पताल व्यवस्थापन समितिले मार्ग प्रशस्त गर्ने निर्णय गरिएको जनाइएको छ। यो संगै स्थानीय संघर्ष समितिको आन्दोलन पनि स्थगन भएको छ ।














Leave a Reply