धनगढी, कैलाली ।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट ‘उज्यालो नेपाल पार्टी’ का उम्मेदवार चन्द्र साउँदले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ। “गफ होइन काम, भाषण होइन परिणाम” भन्ने मुख्य नाराका साथ उहाँले क्षेत्रको समग्र विकास र सुशासनका लागि १३ बुँदे मार्गचित्र प्रस्तुत गर्नुभएको हो।
सार्वजनिक प्रतिबद्धता पत्रमा साउँदले सुदूरपश्चिमको पहिचान र कैलालीको विकासलाई केन्द्रमा राख्नुभएको छ। उहाँका मुख्य एजेन्डाहरू यस प्रकार छन्:
१. सुशासन र भ्रष्टाचार विरुद्धको अभियान
साउँदले आफ्नो पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण र ‘माफियातन्त्र’ को अन्त्य रहेको बताउनुभएको छ। उहाँले सरकारी सेवालाई पारदर्शी बनाउँदै बिचौलियाको अन्त्य गर्ने र जनतालाई प्रत्यक्ष राहत दिने कुरामा जोड दिनुभएको छ।
२. पूर्वाधार र स्मार्ट धनगढीको अवधारणा
कैलाली निर्वाचन क्षेत्र नं. ५ लाई समेट्दै धनगढी उप-महानगरपालिकालाई धुलोमुक्त, ढल निकास सहितको व्यवस्थित र उज्यालो ‘स्मार्ट सिटी’ बनाउने योजना अघि सारिएको छ। साथै, धनगढी विमानस्थलको स्तरोन्नति गरी हवाई भाडा घटाउन पहल गर्ने प्रतिबद्धता समेत जनाइएको छ।
३. शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन
सुदूरपश्चिममा स्तरीय विज्ञान तथा प्रविधि विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको स्तरोन्नतिलाई उहाँले प्राथमिकतामा राख्नुभएको छ। विपन्न नागरिकका लागि निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उहाँको संकल्प छ।
४. रोजगारी र कृषि क्रान्ति
२० हजारभन्दा बढी बेरोजगार युवाहरूलाई सीपमूलक तालिम र रोजगारीका अवसरहरू सिर्जना गर्ने दाबी साउँदको छ। कृषि क्षेत्रमा आधुनिकता ल्याउन सहुलियत दरमा मल, बीउ र प्रविधिको व्यवस्था गर्ने तथा सुदूरपश्चिममा जडीबुटी उद्योग स्थापना गर्ने योजना पत्रमा उल्लेख छ।
५. सामाजिक न्याय र भूमिहीनको समस्या
वर्षौँदेखि बल्झिरहेको मुक्त कमैया, सुकुम्वासी र भूमिहीनहरूको समस्यालाई स्थायी रूपमा समाधान गर्न र उनीहरूलाई आत्मसम्मानका साथ बाँच्ने वातावरण निर्माण गर्न विशेष पहल गर्ने प्रतिबद्धता साउँदले व्यक्त गर्नुभएको छ।
“हाम्रो लडाइँ भ्रष्टाचार र बेथिति विरुद्ध हो,” प्रतिबद्धता पत्रमा भनिएको छ, “उज्यालो नेपाल निर्माणका लागि सक्षम नेतृत्व र स्पष्ट भिजन आवश्यक छ, जुन हामीले बोकेका छौँ।”
साउँदले आफ्नो चुनाव चिह्न ‘बिजुलीको चिम’ (बल्ब) मा मतदान गरी आफूलाई विजयी गराउन मतदाताहरूलाई अपिल समेत गर्नुभएको छ। क्षेत्र नं. ५ मा साउँदको यो सक्रियतासँगै चुनावी सरगर्मी थप बढेको देखिन्छ।















Leave a Reply