Yes Nepal News

A complete Online News Portal from Nepal

कुलमान घिसिङ: उज्यालो नेपाल पार्टी देशको ‘लोडसेडिङ’ समस्या अन्त्य गर्न स्थापना — धरानमा घोषणा

धरान — उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले देशका विभिन्न क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने लक्ष्यसहित पार्टी स्थापना गरिएको बताएका छन्।

चुनावी अभियानअन्तर्गत बिहीबार धरानको भानुचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले आफू नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा विद्युत् लोडसेडिङ अन्त्य गरेको स्मरण गरे।

उनले भने, “एउटा लोडसेडिङ अन्त्य गरेर आयौं, अब रोजगारी, गरिबी र भ्रष्टाचारको लोडसेडिङ पनि अन्त्य गर्न आएका छौं।”

घिसिङले प्राधिकरणलाई घाटाबाट नाफामा पुर्‍याएको, गाउँगाउँमा विद्युत् विस्तार गरेको तथा जलविद्युत् निर्यात सुरु गरिएको दाबी गरे। उनले जलविद्युत् भारत र बंगलादेशसम्म निर्यात गर्न सफल भएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा ठूलो रुपान्तरण भएको बताए।

उनका अनुसार पार्टीको उद्देश्य देशलाई समृद्ध बनाउँदै हरेक नागरिकको जीवनस्तर सुधार गर्नु हो। “गफ गरेर होइन, काम गरेर परिणाम दिने हाम्रो प्रतिबद्धता हो,” उनले भने।

सभामा उनले धरान क्षेत्रका स्थानीय समस्या समाधान गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। विशेष गरी जलाधार तथा सहकारी सम्बन्धी समस्या, तमोर सुरुङमार्ग तथा विद्युत् लाइन स्थानान्तरण जस्ता विषय प्राथमिकतामा रहेको उनले बताए।

घिसिङले भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माण गर्दै रोजगारी सिर्जना गर्ने लक्ष्य पार्टीले लिएको उल्लेख गरे। युवालाई विदेशिनु नपर्ने अवस्था सिर्जना गर्न आर्थिक आत्मनिर्भरता आवश्यक रहेको उनले बताए।

कार्यक्रममा उनले प्रतिनिधिसभा सदस्यका उम्मेदवार डम्बर लावतीलाई विजयी गराउन मतदातासँग आग्रह गरे। उनले विकास र रुपान्तरणका लागि पार्टीलाई समर्थन गर्न आह्वान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading