निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन सुरु गरेको छ। मतपत्र छपाइ सम्पन्न भएका प्रदेशका १२ निर्वाचन क्षेत्रमा ढुवानी प्रक्रिया अघि बढाइएको हो।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्र पठाइएको छ।
आयोगले हालसम्म ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ सम्पन्न गरेको जनाएको छ। कुल एक करोड ५७ लाख ७८ हजार मतपत्र छापिसकिएको छ।
यसअघि डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेतसहित सुदूरपश्चिम र पूर्वी पहाडी जिल्लाका विभिन्न स्थानका मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ। त्यस्तै अन्य धेरै जिल्लाका मतपत्रसमेत तयार भइसकेका छन्।
हालसम्म १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ। आयोगका अनुसार दैनिक करिब एक हजार बाकस मतपत्र प्याकिङ भइरहेको छ भने प्रतिदिन १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ भइरहेको छ। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छापेर विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ।
यस्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ। माघ १६ गते बिहानदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको हो।















Leave a Reply