काठमाडौं – प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव एवं पत्रकार सन्तोष देउजाले सरकारको पछिल्लो कदमप्रति कडा आक्रोश व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुक बन्द भएपछि उनले बिहान सबेरै लेखेको लामो भावनात्मक स्टाटस अहिले सार्वजनिक बहसको केन्द्र बनेको छ।देउजाले आफ्नो स्टाटसमा तीन महिना अघिको दुःखद घटना सम्झाउँदै भनेका छन् –“जेठ १७ गते मध्यरातमा मेरो अफिसमा चोर पस्यो। ३ वटा क्यामेरा, २ वटा ल्याबटपसहितका सामान चोरेर लग्यो। मैले प्रहरीदेखि पत्रकार महासंघसम्म गुहारें। एउटा चोर समातियो, अर्को अझै फरार छ। तर सामान कहिल्यै भेटिएन।”
उनले त्यस घटनासँग अहिलेको परिस्थितिको तुलना गर्दै सरकारलाई “ठूलो चोर” को संज्ञा दिएका छन्। उनका शब्दमा,
“अहिले ठिक ३ महिना पछि सरकारले मिडिया नै खोस्यो, छिन्यो, लुट्यो। त्यो चोरले चोर्दा कम्तिमा पुलिस साथमा थियो, तर यो चोरले? अब मैले कस्लाई गुहार्नु?”देउजाले आफ्नो मिडिया जीवनलाई सन्तानजस्तै हुर्काएको भन्दै सरकारको कदमलाई व्यक्तिगत र पेशागत जीवनमाथिको आक्रमणका रूपमा चित्रण गरेका छन्। उनले लेखेका छन् –“मैले मेरा छोराछोरी जन्माउनु अघिदेखी हुर्काउँदै आएको मिडिया हो। दशैँ–तिहारमा भूमिगत भएर संघर्ष गरेको हो। सजिलो थिएन यहाँसम्म आउन। अब यो सबै मिहिनेत एकै झट्कामा लुटियो।”
परिवार र पीडादायी अनुभव
देउजाले सामाजिक सञ्जालमार्फत आफ्ना छोराछोरीका फोटो हालेर आमाबुवालाई खुसी दिने र विदेशमा रहेका आफन्तसँग सम्बन्ध जोड्ने माध्यम पनि हराएको उल्लेख गरेका छन्।
उनले मार्मिक शैलीमा भनेका छन् –
“२ दिन भयो, गाउँबाट ममीले मुसुक्क ‘छोरा सञ्चै छस्’ भनेर भिडियो कल गर्नुभएन। बल्ल म्यासेन्जरमा प्रोफाइल फोटो देखेर फोन गर्नुभएको थियो। त्यो पनि खोसियो।”
मन्त्रीमाथि प्रहार
सरकारका मन्त्रीहरूको लापरबाहीप्रति उनले घोचपेच गर्दै भनेका छन् –“फोटो त खिचियो, फेसबुक बन्द भयो, अब फोटो केमा हाल्ने भनेर सोध्दा मन्त्री भन्छन् – भाइबरमा हाल्नुस्। प्रविधी र सामाजिक सञ्जालबारे थोरै पनि ज्ञान नभएका सरकारले अन्धाधुन्ध निर्णय गर्यो।”
जनतालाई अपिल
आफ्नो स्टाटसको अन्त्यतिर उनले यो लडाइँ व्यक्तिगत नभई सामूहिक भएको भन्दै जनतालाई सचेत हुन आह्वान गरेका छन्। उनका शब्दमा –
“साँच्चिकै एउटा पागलको हातमा तरवार पर्दा अन्धाधुन्ध रेटिनुपर्दो रहेछ। नयाँ पुस्ताले गहिरिएर सोच्ने बेला आएको छ। यिनीहरुलाई चुनावमा ठेगान लगाउनुपर्छ।”
पृष्ठभूमि
हालै सरकारले सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने निर्णय लिएपछि पत्रकारदेखि सर्वसाधारणसम्म व्यापक असन्तोष चुलिएको छ। अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार भएको भन्दै विरोध बढ्दै गएको छ।सन्तोष देउजाको यो स्टाटसले भने जनतालाई अझ भावनात्मक रूपमा छोएको छ। पत्रकारितामा जीवन अर्पण गरेका व्यक्तिले यसरी सार्वजनिक पीडा पोख्नुले सामाजिक सञ्जाल बन्दले पारेको गहिरो असर प्रष्ट भएको विश्लेषकहरूको भनाइ छ।
#hbtamrakar #gyanendrashahi #KPSharmaOli #deuba #RabiLamichhane #Balenshah #Prachanda #usa #MarkZuckerberg #CEO #bhojrajthapa #kamalsargam #jeevanpandey #prakashchanddahal