अत्तरिया कैलाली – गोदावरी नगरपालिका वडा नं. ३, १०, ११ र १२ ले चौकीडाँडा–फल्टुडे सडक खण्डमा भएको चरम ढिलासुस्ती र लापरबाहीविरुद्ध सडकमै उत्रिएर दबाब सिर्जना गरेका छन्।
वर्षौं अघिदेखि आशा बोकेर बसिरहेका स्थानीय बासिन्दाले अझैसम्म धुलो–माटो र हिलोमै यात्रा गर्न बाध्य भएका छन्। तोकिएको समयमा सडक निर्माण सम्पन्न नगर्ने मात्र होइन, गुणस्तरमै सम्झौता गर्ने शैली देखेपछि वडाहरुले जनताको पीडालाई आफ्नै पीडा बनाउँदै कडा कदम चाल्न बाध्य भएको जनाएका छन्।
निर्माण कम्पनी एडभान्सर सिभिल जेम र तेडी निर्माण सेवाप्रति रोष प्रकट गर्दै वडाहरुले अब जनताको धैर्यको परीक्षा लिन नसक्ने चेतावनी दिएका छन्।
यस अभियानलाई नेतृत्वदायी रुपमा अगाडि बढाउँदै आएका वडा नं. १० का वडाध्यक्ष रविन्द्र शाहीले भने, “सडक नबन्दा हाम्रो बालबालिका विद्यालय जान हरेक दिन धुलोको मुस्लोमा हराउँछन्, बिरामी अस्पताल पुग्न गाह्रो हुन्छ, किसानको उत्पादन बजारमा पुग्दैन। यो पीडा देख्दा चुप बस्न सकिन्न, त्यसैले सडकबाटै आवाज उठाउनुपर्यो।”
वडा नं. ३, १०, ११ र १२ का वडाध्यक्ष तथा प्रतिनिधिहरूले सडक बन्द गर्दै चेतावनी स्वरूप आन्दोलन चलाए। उनीहरूले कम्पनीलाई तत्काल सुधार नगरे नगरपालिकाको स्तरमै ठूलो कदम चालिने स्पष्ट सन्देश दिएका छन्।
जनताले पनि वडाहरुको यो कदमलाई खुलेर साथ दिएका छन्। स्थानिय वृद्ध–वृद्धादेखि विद्यार्थी र व्यवसायीसम्म सबैले सडकमा भेला भई एउटै स्वर दिएका छन् — “हामीलाई ढिलासुस्ती होइन, समयमै गुणस्तरीय सडक चाहिन्छ।”
