सर्लाही, पुस ६ ।समाजसेवामा अग्रणी एभरेष्ट रिलिफ (यूएसए–नेपाल) फाउण्डेसनले सर्लाहीको हरिवनमा एक भावनात्मक र ऐतिहासिक राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । अमेरिकामा बसोबास गरिरहेका डिल्लीबिक्रम थापा (सागर), युवराज कार्की (प्रिन्स) र दीपज्योति कार्की (धिराज) को पहलमा गठित उक्त फाउण्डेसनले हरिवन नगरका विभिन्न टोलका ५१ जना विपन्न परिवारलाई राहत सहयोग प्रदान गरेको हो ।
राहत स्वरूप प्रत्येक परिवारलाई एक थान फाइबर सिरक, ५ किलो चामल, २ किलो पिठो, १ किलो दाल, १ पोका नुन र १ पोका खानेतेल उपलब्ध गराइएको थियो । स्थानीय स्तरमा सहजकर्ताको भूमिका निर्वाह गरेका तेज बिक्रम थपलियाका अनुसार, “यो सहयोगले चिसो मौसमसँग लडिरहेका परिवारलाई ठूलो राहत मिलेको छ ।”
कार्यक्रमलाई भव्यताको साथ सम्पन्न गरिएको थियो । कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), वडा नं. ८ का वडाध्यक्ष प्रज्वल ढुंगाना, डिल्लीबिक्रम थापाका बुवा–आमा कुमार थापा र शोभा थापा, समाजसेवी तथा शिक्षक सुदर्शन पोखरेल, गोविन्द चापागाईं, श्याम कर्ण, डल्लाराम परियार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
समाजसेवा कुनै सीमामा सीमित रहँदैन भन्ने सन्देशसहित गरिएको यो राहत वितरणले विदेशमा रहेका नेपालीहरूले पनि आफ्नो गाउँ–समुदायलाई नभुल्ने उदाहरण प्रस्तुत गरेको छ । एभरेष्ट रिलिफ (यूएसए–नेपाल) फाउण्डेसनले आगामी दिनमा पनि यस्तै सहयोग र सामाजिक अभियन्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।