काठमाडौं, श्रावण १४ – एमालेका प्रभावशाली युवा नेता एवं प्रतिनिधिसभा सदस्य सुहाङ् नेम्बाङ् आज Asia Water Council (AAWC) को एक महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका छन्। जलवायु परिवर्तन, जल व्यवस्थापन र क्षेत्रीय सहकार्यका विषयमा विचार विमर्श गर्न आयोजित यस कार्यक्रमलाई नेम्बाङ्ले जल संकट समाधानका लागि साझा प्रयासको मञ्चको रूपमा व्याख्या गरेका छन्।
नेम्बाङ्ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लेखेका छन्, “आज म Asia Water Council (AAWC) को महत्वपूर्ण कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुँदैछु। जलवायु परिवर्तन, जल व्यवस्थापन, र क्षेत्रीय सहकार्यका विषयमा विचार आदानप्रदान गर्ने यस अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुनु मेरो लागि गर्वको विषय हो।”
नेम्बाङ यसअघि दक्षिण कोरियामा सम्पन्न AAWC को कार्यक्रममा पनि सहभागी भइसकेका छन्। त्यतिखेर उनले नेपालमा जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेका समस्याहरूको विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए। यसपटक, उनले ती समस्याहरूको दीर्घकालीन समाधानका लागि नेपालले अघि सारेको नीति, योजना र सहकार्यको रणनीति प्रस्तुत गर्ने जनाएका छन्।
उनको भनाइमा, “यस वर्ष म ती समस्याहरूको दीर्घकालीन समाधानका लागि नेपालले अघि सारेको योजनालाई यहाँ पुनः प्रस्तुत गर्दैछु — सहकार्य, लगानी र ज्ञान आदानप्रदानमार्फत साझा समाधानको बाटो खोज्दै।”
नेम्बाङ् जलवायु परिवर्तन र पानी व्यवस्थापनजस्ता समसामयिक र बहुपक्षीय चासोका विषयमा निरन्तर सक्रिय रहँदै आएका छन्। उनी सत्तारूढ दल एमालेका युवा अनुहार मात्र नभई, अन्तर्राष्ट्रिय मञ्चमा नेपालका महत्वपूर्ण मुद्दा प्रस्तुत गर्न सक्ने सक्षम वक्ताका रूपमा समेत चिनिँदै गएका छन्।
Asia Water Council (AAWC) एशिया प्रशान्त क्षेत्रमा जल स्रोत व्यवस्थापन, जलवायु अनुकूलन, तथा जल सम्बन्धी दिगो विकासमा केन्द्रित एक अग्रणी क्षेत्रीय निकाय हो, जसमा सदस्य राष्ट्रहरूले आपसी सहकार्यमार्फत नीति निर्माण, प्रविधि आदानप्रदान र जल कूटनीतिको अभ्यास गर्छन्।
नेम्बाङको सहभागिता नेपालको जलवायु सम्बन्धी नीति र अन्तर्राष्ट्रिय सहकार्यमा थप स्पष्टता, प्रतिबद्धता र विश्वसनीयता कायम गर्ने महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ।