टोकियो, जापान — जुलाई २७, २०२५–गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको २०२५–२७ कार्यकालका लागि सम्पन्न निर्वाचनमा सुभाष लामिछाने भारी मतान्तरका साथ अध्यक्षमा निर्वाचित भएका छन्। कुल मतदाता संख्या मध्ये ६७.४१ प्रतिशतको उल्लेखनीय सहभागिता रहेको यो निर्वाचन शान्तिपूर्ण र विवादरहित रुपमा सम्पन्न भएको थियो।

निर्वाचनमा आफ्नो ऐतिहासिक विजयपश्चात लामिछानेले सामाजिक सञ्जालमार्फत एक भावनात्मक सन्देश जारी गर्दै सम्पूर्ण मतदाताहरू, शुभेच्छुकहरू, अभियानमा साथ दिने साथीहरू तथा प्रतिस्पर्धीहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै प्राप्त नतिजालाई सबैको सफलता ठहर गर्दै आगामी कार्यकालमा सबैलाई समेट्ने प्रतिबद्धता जनाएका छन्।
निर्वाचन आयोगलाई धन्यवाद
लामिछानेले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्त तिलक मल्ल, सदस्य सचिव भूपिगोविन्द श्रेष्ठ तथा सदस्य केशर गिरीको निष्पक्ष र व्यावसायिक भूमिकाको खुलेर प्रशंसा गरेका छन्। यस्तै, निवर्तमान अध्यक्ष नवीन न्यूरेप्रति पनि आभार प्रकट गर्दै एनआरएनए जापानलाई थप उचाइमा पु¥याउने प्रयास निरन्तर रहने बताएका छन्।
सपना एउटै, यात्रामा सहकार्यको प्रतिबद्धता
विशेष गरी अध्यक्षीय पदका अर्का दाबेदार सिद्धार्थ श्रेष्ठसँगको सम्बन्ध र सहकार्यबारे लामिछानेले उल्लेख गर्दै भनेका छन्, “आज मेरो स्थानमा सिद्धार्थ दाइ आउनुभएको भए पनि हामी पुग्ने गन्तव्य एउटै थियो।” उनले श्रेष्ठसँग साझा सपना, योजना र उद्देश्य रहेको स्मरण गराउँदै ती सबै सपना पूरा गर्ने प्रण व्यक्त गरेका छन्।
परिवार र शुभेच्छुकहरूलाई भावुक धन्यवाद
लामिछानेले आफ्नो परिवारप्रति विशेष आभार प्रकट गर्दै देशभरबाट उनलाई साथ दिने शुभेच्छुक, स्वयंसेवक, आईटी टिम, पत्रकार, सल्लाहकार, र अभियानमा साथ दिने अन्य उम्मेदवारहरूको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका छन्। उनले यो विजय आफू एक्लैले सम्भव नगरेको, सबैको सामूहिक मिहिनेतको परिणाम भएको प्रस्ट पारेका छन्।
पराजित उम्मेदवारप्रति सहानुभूति र एकताको आह्वान
चुनावी प्रतिस्पर्धामा सहभागी भएर विजयी नहुने साथीहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दै लामिछानेले उनीहरूलाई एउटै लक्ष्य बोकेका यात्रुका रूपमा उल्लेख गरेका छन्। “हामी सँगै छौँ, एउटै गन्तव्यमा अघि बढ्नेछौँ,” उनले भनेका छन्।
जिम्मेवारी र माफी–साथै भविष्यप्रतिको प्रतिबद्धता
विजयको खुसीमा समर्थकहरूले उत्साह देखाएको तर त्यस क्रममा देखिएको चर्को आवाजका कारण केही असुविधा भएकोप्रति गहिरो खेद प्रकट गर्दै लामिछानेले भविष्यमा यस्ता गतिविधि नदोहोरिन प्रतिबद्धता व्यक्त गरेका छन्। “तपाईंको आलोचना मेरो लागि थप जिम्मेवार बनाउने माया हो,” भन्दै उनले सबैप्रति व्यक्तिगत रूपमा माफीसमेत मागेका छन्।
नव निर्वाचितहरूप्रति बधाई, सहकार्यको अपेक्षा
अन्त्यमा लामिछानेले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई दिँदै उपविजयी उम्मेदवारहरूप्रति समेत सहकार्यको अपेक्षा राखेका छन्। “हामी सबैको लक्ष्य एउटै हो, एनआरएनए जापानलाई अझ सक्षम, समावेशी र सशक्त बनाउनु,” उनले सन्देशमा उल्लेख गरेका छन्।
एनआरएनए जापानको आगामी नेतृत्वप्रति आशा
सुभाष लामिछानेको विजयसँगै एनआरएनए जापानमा एक नयाँ नेतृत्वले बागडोर सम्हाल्नेछ। लामिछानेजस्ता अनुभवी अभियन्ताको नेतृत्वमा जापानस्थित नेपाली समुदायको हकहित र प्रवासी नेपालीको आवाज अझ प्रभावशाली ढंगले उठाइने अपेक्षा गरिएको छ।