बर्दिया— बर्दिया कारागार भित्रकै कैदीको विस्तराबाट लागुऔषध गाँजा बरामद भएपछि कारागारको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले नियमित चेकजाँचका क्रममा ५ ग्राम गाँजा फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र बहादुर डमरपालका अनुसार उक्त गाँजा असार १२ गते विहान कारागार भित्र गरिएको चेकजाँचका क्रममा भेटिएको हो। उनका अनुसार गाँजा कैदीबन्दी सोहन ढकालको विस्तरामा लुकाइछिपाई राखिएको अवस्थामा फेला परेको हो। ढकाल कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई सजाय भुक्तानी गरिरहेका व्यक्ति हुन्।
प्रहरी स्रोतका अनुसार गाँजा कारागारभित्रकै कुनै व्यक्तिको संलग्नता विना भित्र छिर्न असम्भव रहेको भन्दै यस विषयमा थप अनुसन्धान भईरहेको छ। स्रोतले भन्यो, “कारागार भित्रबाट नै लागुऔषध बरामद हुनु गम्भीर विषय हो। यसले सुरक्षा व्यवस्थामाथि गम्भीर चुनौती खडा गरेको छ।”
घटनापछि कारागारको आन्तरिक व्यवस्थापन, सुरक्षा संयन्त्र र सम्भावित संलग्नताको विषयलाई लिएर चौतर्फी चासो बढेको छ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा बर्दिया कारागार कार्यालयका प्रमुख (जेलर) मान बहादुर साडुमगरले कुनै प्रतिक्रिया दिन मानेनन्।
घटनाले जेलभित्रको सुरक्षामा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा व्यवस्थापन पक्षको भूमिका र उत्तरदायित्वमाथि समेत प्रश्न उठाइदिएको छ। अहिले घटनासँग सम्बन्धित विभिन्न कोणबाट अनुसन्धान जारी रहेको प्रहरी कार्यालयले जनाएको छ।