लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका संयोजक प्रेम गाहा मगरले आगामी १३ सेप्टेम्बर २०२५ मा लन्डनको Springwest Academy, Feltham मा दोस्रो एनआरएनए कप तथा नेपाल फेस्टिवल आयोजना हुने जानकारी दिनुभएको छ।
उहाँले सामाजिक सञ्जालमार्फत आभार प्रकट गर्दै विगतमा भएको सफल कार्यक्रमप्रति योगदान पुर्याउने सम्पूर्ण सहयोगी, प्रायोजक, साझेदार र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। “हामी सबैको सहकार्य र सहयोगकै कारण गत वर्षको कार्यक्रम अविस्मरणीय बनेको थियो,” उहाँले उल्लेख गर्नुभयो।
यस पटकको नेपाल फेस्टिवल अझ भव्य हुने संयोजक मगरको दाबी छ। कार्यक्रममार्फत नेपाली कला, संस्कृति, परम्परा, खानपान र संगीतलाई अझ व्यापक रुपमा प्रस्तुत गरिनेछ। त्यस्तै, खेलकुदमा युवा प्रतिभालाई प्रोत्साहित गर्न ९ औं A-Side NRNA Cup समेत आयोजना गरिनेछ।
“हाम्रो समुदायलाई अझ नजिक ल्याउन र नयाँ पुस्तामा नेपालको मौलिकता उजागर गर्न यस फेस्टिवलले महत्वपूर्ण भूमिका खेल्नेछ,” मगरले बताउनुभएको छ।
एनआरएनए यूकेले यस कार्यक्रमलाई सफल बनाउन निरन्तर सहयोगका लागि सम्पूर्ण नेपाली समुदाय, सहयोगी संस्थाहरू र शुभेच्छुकहरूप्रति आह्वान समेत गरेको छ।