कञ्चनपुर — सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका र काठमाडौं विश्वविद्यालय, मानसिक स्वास्थ्य तथा अनुसन्धान केन्द्र, धुलिखेल (काभ्रे) बीच मानसिक स्वास्थ्य सम्बन्धी बिरामीहरूको उपचार तथा परामर्श सेवा संचालन गर्ने विषयमा सम्झौता भएको छ।
नगरपालिकाका मेयर हेम थापाका अनुसार काठमाडौं विश्वविद्यालय र कुनै पनि स्थानीय तहबीच स्वास्थ्यसम्बन्धी सम्झौता भएको यो पहिलोपटक हो।
सम्झौता अनुसार बिरामीहरूको परामर्श र उपचार अनलाइन भिजुअल प्रविधिमार्फत हुनेछ। बिरामी स्वयं कृष्णपुर स्वास्थ्य चौकीमा उपस्थित भई त्यहाँका मेडिकल अफिसरको सहयोगमा काठमाडौं विश्वविद्यालय मानसिक स्वास्थ्य तथा अनुसन्धान केन्द्रका विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष भिजुअल कुराकानी/परामर्श गर्न सक्नेछन्।
यो कार्यक्रम हरेक शुक्रबार दिउँसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ। साथै, धुलिखेलस्थित मानसिक स्वास्थ्य तथा अनुसन्धान केन्द्रका विशेषज्ञ चिकित्सकहरूको टोलीले हरेक ३ महिनामा प्रत्यक्ष रूपमा कृष्णपुरमै बिरामीको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ।
यस कार्यक्रममार्फत मानसिक स्वास्थ्य समस्यामा रहेका नगरवासीलाई सहज उपचार सेवा प्राप्त हुने नगरपालिकाले विश्वास लिएको छ। साथै, मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई आवश्यक पर्ने औषधि नगरपालिकाले निःशुल्क उपलब्ध गराउने जनाएको छ।
यस महत्त्वपूर्ण सहकार्यका लागि काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिसिनका एसोसिएट डिन डा. दिपक कुँवरलाई विशेष धन्यवाद ज्ञापन गरिएको छ।