कृष्णपुर, कञ्चनपुर – कृष्णपुर नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत भोलि मिति २०८२ साल श्रावण १ गते बिहीबारदेखि निःशुल्क शववाहन सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याउने भएको छ।
नगर प्रमुख हेमराज ओझाको नेतृत्वमा सञ्चालनमा ल्याइएको यो सेवा गाउँ–घरमा मृत्यु भएका व्यक्तिको शव ढुवानी गर्न कठिनाइ भोग्दै आएका सर्वसाधारणलाई लक्षित गरेर सुरु गरिएको हो।
सेवाको सुरुवातअघि नगरपालिकाका उपप्रमुख द्रोपती रानाले आज विशेष पूजा गरी विधिपूर्वक कार्य शुभारम्भ गर्नु भएको छ। शववाहनको चालक प्रेम जोशी रहेका छन्, जसलाई सम्पर्क गर्न निम्न नम्बरहरू प्रयोग गर्न सकिनेछ:
📞 9766088011 / 9708041144
नगरप्रमुख हेमराज ओझाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्,
“अब कसैलाई पनि आर्थिक अभाव वा साधन अभावका कारण आफ्ना प्रियजनको शव अस्पताल वा घरबाट घाट लैजान समस्या हुने छैन। यो सेवा हाम्रो नगरको प्रत्येक नागरिकका लागि समर्पित छ।”
नगरपालिकाले शववाहन सेवा पूर्णतः निःशुल्क रूपमा प्रदान गर्नेछ, जसले नगरवासीहरूबीच ठूलो राहत र सहुलियतको अनुभूति दिलाउने अपेक्षा गरिएको छ।
यस अभियानले कृष्णपुर नगरपालिकालाई जनमुखी र संवेदनशील सेवा प्रवाहमा अग्रसर स्थानीय सरकारका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ।
“जनताको पीडामा साथ, सेवामा समर्पण – कृष्णपुर नगरपालिकाको प्रतिवद्धता” भन्ने नारालाई सार्थक बनाउने दिशामा यो शववाहन सेवा एक महत्वपूर्ण कदम सावित हुने निश्चित देखिन्छ।