गोदावरी, कैलाली — गोदावरी नगरपालिका–१० को आयोजनामा सर्पदंश, ग्यास चुलोको सुरक्षित प्रयोग, आगलागी नियन्त्रण तथा लागू औषध दुरुपयोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम एक भव्य समारोहबीच सम्पन्न गरिएको छ। कार्यक्रम २०८२ साल फागुन १५ गते आयोजित गरिएको हो।
वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाही (गुड्डु) ज्यूको सभाध्यक्षता तथा सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री तथा प्रदेश सांसद श्री प्रकाश बमज्यूको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। प्रदेश प्रहरी कार्यालयका डिआइजी विशिष्ट अतिथिका रुपमा कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।
सहकार्य गोदावरी नगरपालिका वडा नं. १० कार्यालय, गौरीशंकर मिडिया प्रा.लि., इलाका प्रहरी कार्यालय अत्तरिया र जानकी मावि सितापुरको संयुक्त प्रयासमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा गोदावरी नगरकार्यपालिकाका सदस्य श्री महादेव कामी, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्था, शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत सर्पदंश भएमा प्राथमिक उपचारका उपायहरू, ग्यास चुलोको सुरक्षायुक्त प्रयोग, आगलागीबाट जोगिने उपाय तथा युवापुस्तामा बढ्दो लागू औषध दुर्व्यसन रोकथामबारे जानकारी प्रदान गरियो।
वडा अध्यक्ष रविन्द्र शाहीले यस्तो किसिमका जनचेतनामूलक कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि स्थानीयस्तरमा आवश्यक र उपयोगी कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमले स्थानीय तहमा स्वास्थ्य, सुरक्षा र सामाजिक चेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।