काठमाडौं, एस नेपाल न्युज।राजावादी नेतृ कविता आचार्यले गणतन्त्र असफल भएको ठहर गर्दै राजतन्त्र फर्काउने स्पष्ट घोषणा गरेकी छन्। एस नेपाल न्युजको विशेष कार्यक्रममा बोल्दै उनले आउँदो जेठ १५ गते देशभर व्यापक आन्दोलनको तयारी भएको खुलासा गरिन्।
“देश बिनाशतर्फ गइरहेको छ। नेताहरू भ्रष्ट छन्, जनताले राहत होइन, धोका पाएका छन्। अब विकल्प भनेको राष्ट्र, धर्म र संस्कृतिको रक्षा गर्ने संवैधानिक राजतन्त्र नै हो,” उनले भनिन्।
आचार्यले आन्दोलनको तयारी व्यापक भएको जनाउँदै साउन महिनाभित्र राजतन्त्र फर्काउने लक्ष्य रहेको बताइन्। उनका अनुसार वर्तमान शासन प्रणालीले देशलाई असहाय बनाएको छ र जनतामा निराशा मात्र फैलाएको छ।
“गणतन्त्र विदेशीको तोक अनुसार आयात गरिएको शासन हो,” उनले भनिन्। “भारतले अघोषित रूपमा नेपाल चलाइरहेको छ। हामी अहिले स्वाधीनता गुमाएको अवस्थामा छौं। अहिलेको आन्दोलन राजनीतिक क्रान्ति मात्र होइन, स्वतन्त्रताको लडाइँ पनि हो।”
कविता आचार्यको यस्तो अभिव्यक्तिसँगै देशभरका राजावादी समर्थकहरूमा उत्साह थपिएको देखिएको छ। उनका अनुसार आन्दोलन राजनीतिक दलहरूप्रति आक्रोश र जनताको वास्तविक प्रतिनिधित्वप्रति प्रतिबद्धता दुबैको मिश्रण हुनेछ।
उनले भनेकी छन्, “राजतन्त्र भनेको कुनै व्यक्तिको शासन होइन, यो हाम्रो गौरवशाली इतिहास, हाम्रो पहिचान, हाम्रो धर्म र हाम्रो राष्ट्रिय एकताको प्रतीक हो।”
राष्ट्रव्यापी आन्दोलनको तयारी
आचार्यले जेठ १५ देखि सुरु हुने आन्दोलनमा सयौं ठाउँमा विरोध कार्यक्रम, जनप्रदर्शन र सचेतना र्यालीहरू हुने बताइन्। उनले भनिन्, “यो आन्दोलन सशक्त, अहिंसात्मक तर निर्णायक हुनेछ। हामी लोकतान्त्रिक विधिमा राजतन्त्र फर्काउनेछौं।”
उनले सबै युवालाई आह्वान गर्दै भनिन्, “अब बोल्नुहोस्, सडकमा आउनुहोस्, तपाईंको देश तपाईंले बचाउनुहोस्।”
गणतन्त्रप्रति कडा आलोचना
कविता आचार्यले वर्तमान राजनीतिक व्यवस्था तथा सत्तारूढ नेताहरूलाई निर्लज्ज र राष्ट्रघाती भनेकी छन्। “आजको नेतृत्व जनताको दुःखमा होइन, आफ्ना कमिसन र ठेक्काको खेलमा रमाइरहेको छ। यस्तो गणतन्त्र जनताको होइन, दलालहरूको हो,” उनले जोड दिइन्।
भारतीय हस्तक्षेपको आरोप
उनले भारतले अघोषित रूपमा देश सञ्चालन गरिरहेको आरोप पनि लगाइन्। “हाम्रो परराष्ट्र नीति, सुरक्षा नीति र आर्थिक नीति विदेशी दबाबमा तय भइरहेको छ। यस्तो अवस्थामा स्वतन्त्रता सुरक्षित छैन।”
आचार्यको भनाइमा वर्तमान गणतन्त्रले न त धर्म जोगायो, न संस्कृति, न त युवाको भविष्य। “हामीले जसको नाममा लडेका थियौं, अहिले उसैको दलाली गर्दैछौं। यो जनतामाथिको अपराध हो, इतिहासले माफ गर्नेछैन।”