काठमाडौं, ४ साउन।नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले पार्टीको संसदीय दलमा डा. शेखर कोइरालाको पक्षमा ६० प्रतिशत सांसद रहेको ठोकुवा गर्नुभएको छ। आइतबार काठमाडौंमा कोइराला पक्षधर सांसदहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले यो दाबी सार्वजनिक रूपमा प्रस्तुत गर्नुभएको हो।
EXCLUSIVE VIDEO 👇👇👇👇👇👇
उहाँले शेखर पक्षधर नेताहरूसँग केन्द्र र प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा समेत गम्भीर छलफल भएको खुलासा गर्नुभयो। यद्यपि यसबारे स्पष्ट निर्णय भइनसकेको र अर्को चरणको बैठकपछि मात्रै निर्णय लिने सहमति भएको उहाँको भनाइ छ।
“आजकै मितिमा डा. शेखर कोइरालाले चाहँदा संसदीय दलमा हाम्रो सम्मानजनक अवस्था छ,” शर्माले भन्नुभयो, “संसदीय दलमा भिड्ने हो भने ६० प्रतिशत पुग्छ।”
डा. शर्माले वर्तमान सरकारप्रति कडा असन्तुष्टि व्यक्त गर्दै भन्नुभयो, “देश अहिले रोएको अवस्थामा छ। सरकारले सुशासन दिन सकिरहेको छैन, भ्रष्टाचार नियन्त्रण गर्न सकेको छैन।”
उहाँका अनुसार, यस वर्ष आफूले घुस नखुवाई कम्पनी रिन्यु गराएको उदाहरण हालको शासनको दयनीयतासँग तुलना गर्न पर्याप्त हो।
सरकार परिवर्तनको संकेत?
डा. शर्माको यो अभिव्यक्तिसँगै नेपाली राजनीतिमा फेरि पनि सरकार परिवर्तनको चर्चा चुलिएको छ। खासगरी डा. शेखर कोइरालाले हालै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका शीर्ष नेताहरू र एमाले नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग गरेको भेटघाट यस सम्भावनालाई बल दिएको छ।
शर्माको यो अभिव्यक्ति पार्टीभित्र गहिरिँदै गएको शेखर कोइराला–शेरबहादुर देउवा गुटबीचको शक्ति संघर्षको स्पष्ट संकेत मानिएको छ। पार्टीभित्र नेतृत्वको समीकरण फेरिन सक्ने अनुमान गरिँदै गर्दा, अब आउने संसदीय दलको औपचारिक निर्णय र नेतृत्वको रणनीति निर्णायक बन्ने देखिन्छ।