काठमाडौं, असार २२ –प्रदेश सभा सांसद मिना श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनप्रति खुलेर समर्थन जनाएकी छन्। हाल अस्पतालमा उपचाररत श्रेष्ठले सामाजिक सञ्जालमार्फत पूर्वराष्ट्रपति भण्डारीको निर्णयलाई “सम्मानयोग्य” भन्दै सलाम व्यक्त गरेकी छन्।
उनले लेखेकी छन्, “सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको यो निर्णय केहि दिन अघि नै थाहा थियो, सलाम तपाई प्रती !”
श्रेष्ठको भनाइमा, राष्ट्रपति वा उपराष्ट्रपति पदको अवधि समाप्त भएपछि ती व्यक्ति आफ्नो पूर्व पार्टीमा फर्किएर सक्रिय राजनीति गर्न स्वतन्त्र छन्। तर पूर्वराष्ट्रपति भण्डारीले आफ्नो पार्टीको सदस्यता नविकरण गर्दा गरिएको टिप्पणी र आलोचना “पितृसत्तात्मक चिन्तनको उपज” भएको उनी ठान्छिन्।
“उपराष्ट्रपति आफ्नो पार्टीको सदस्यता नविकरण गर्दा कुनै बहस भएको थाहा भएन, तर राष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नविकरण गर्दा किन टाउको दुखाई?” भनेर श्रेष्ठले प्रश्न गरेकी छन्।
श्रेष्ठले समाजमा महिलाविरुद्ध देखिने पूर्वाग्रहलाई इंगित गर्दै लेखेकी छन्, “एउटी महिला सक्रिय राजनीतिमा आउछु, भन्दा किन रुएको यो समाज? वर्षौँदेखि जकडिएको पितृसत्तात्मक चिन्तनको उपज त होला!”
उनले भण्डारीले राष्ट्रपतिका रूपमा पाएको सेवा-सुविधा फिर्ता गरिरहेको अवस्थामा पनि केही व्यक्तिहरूले अनावश्यक टीका टिप्पणी गरिरहेकोप्रति आपत्ति जनाएकी छन्।
अन्त्यमा, सांसद श्रेष्ठले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच असमझदारी उत्पन्न गर्ने प्रयास नगर्न सबैलाई आग्रह गर्दै लेखेकी छन्, “पार्टी अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र बिधा कमरेड बिच कित्ताकाट गर्ने धमिलो पानीमा रमाउने खेल बन्द गर्न आग्रह गर्दछु। हार्दिक स्वागत बिधा कमरेड।”
उक्त स्टाटस अहिले सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनिरहेको छ।















Leave a Reply