बहराइन, – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बहराइनमा रहेको नेपाली समुदायले भव्य नागरिक अभिनन्दन गर्दै स्वागत गरेका छन्।

शुक्रबार साँझ आयोजित विशेष कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएन), विविध जातीय-सांस्कृतिक संघसंस्थाहरू तथा बहराइनवासी नेपाली श्रमिकहरूले संयुक्त रूपमा अभिनन्दन समारोहको आयोजना गरेका थिए।
कार्यक्रममा घिसिङलाई सम्मानपत्र, खादा र फूलमालासहित विशेष स्वागत गरिएको थियो।

नेपाली समुदायले ‘उज्यालो अभियान’का प्रणेता घिसिङको नेतृत्वमा नेपालमा देखिएको ऊर्जा क्षेत्रको सुधार र परिवर्तनको उच्च सराहना गरेका छन्। कार्यक्रममा बोल्दै घिसिङले आफू कुनै पनि राजनीतिक दलको प्रतिनिधिको रूपमा नभई, नेपाली जनताको सेवामा समर्पित रहेर अघि बढिरहेको बताए।

उनले बहराइनस्थित नेपाली इन्जिनियर, व्यवसायी तथा श्रमिकहरूसँग पनि छलफल गर्दै नेपालमा ऊर्जा विकासमा उनीहरूको सहयोग र अनुभव आदानप्रदान गर्न चाहेको बताएका छन्।

कार्यक्रममा विविध संघसंस्थाका प्रतिनिधिहरू – फूलबहादुर बल, उपेन्द्र कोइराला, आशिम मोक्तान, दीपक गुरुङ र राजु श्रेष्ठ लगायतले स्वागत मन्तव्य दिएका थिए।

यो अभिनन्दन कार्यक्रमले नेपालको ऊर्जा क्षेत्रका नेतृत्वकर्तालाई विदेशमा समेत कति सम्मान र प्रेरणा मिलिरहेको छ भन्ने पुष्टि गरेको छ।