चैैत्र ०२ गते बाँके
अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेडले दोस्रो एकीकरण दिवस २०८२ साल जेठ १ गते एक भव्य समारोहका साथ सम्पन्न गरेको छ। राप्ती सोनारी–८ स्थित शमशेरगञ्जमा आयोजित विशेष साधारण सभामा विभिन्न राजनीतिक, सहकारी तथा सामुदायिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सभाध्यक्ष संस्थाका अध्यक्ष श्री देव बहादुर ओली रहनुभएको थियो भने उपाध्यक्ष दिलावती थापा, प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद तथा पूर्व सिँचाई मन्त्री कृष्ण केसी नमुना, विशिष्ट अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा बाँके जिल्ला सहकारी संघका अध्यक्ष श्री प्रेम सुवेदी लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

एकीकरण दिवसको सन्दर्भमा २०८१ जेठ १ गते आठवटा साना किसान सहकारी संस्थाहरू एकीकृत भई अष्टम साना किसान संस्था गठन गरिएको थियो। त्यसपछि २०८२ जेठ १ गते थप तीन सहकारी संस्थाहरू मिसिएर हाल जम्मा ११ वटा सहकारीहरू मिलेर अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड बनेको हो।

हाल संस्थामा १५,१३३ जना सेयर सदस्य छन्। सेयर पूँजी २१ करोड १९ लाख, बचत रकम १ अर्ब १९ करोड ९७ लाख र लगानी १ अर्ब ९४ करोड ७४ लाख रहेको छ। संस्थाको कुल वासलात २ अर्ब ३८ करोड पुगेको छ।

एक हप्तासम्म चलेको एकीकरण सप्ताहमा स्वास्थ्य शिविर, विद्यालयस्तरीय सहकारी शिक्षा कार्यक्रम, रक्तदान, दीप प्रज्वलनजस्ता कार्यक्रमहरू सञ्चालन गरिएको थियो।
संस्थाका मुख्य कार्यकारी प्रबन्धक हरिश्चन्द्र केसीले एकीकरणलाई सार्थक बनाउन योगदान दिने सबैलाई धन्यवाद दिँदै, भविष्यमा पनि सहकारीको विकास र सुदृढीकरणमा निरन्तर अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन बैजापुर साना किसान सहकारी संस्थाकी प्रबन्धक भागीरथी लुंगेलीले गर्नुभएको थियो।

यो कार्यक्रमले बाँकेको सहकारी आन्दोलनलाई एक ढिक्को बनाउँदै किसानहरूलाई अझ सशक्त बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याएको छ।