Yes Nepal News

A complete Online News Portal from Nepal

वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशको बैंकिङ र सामाजिक संरचनामा गम्भीर असर: गभर्नर पौडेल

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली तथा सामाजिक संरचनामा गम्भीर प्रभाव पारिरहेको बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित सम्पत्ति शुद्धीकरण सम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले विश्वव्यापी रूपमा वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणका कारण वार्षिक ३.६ बिलियन डलर बराबरको राजश्व नोक्सानी हुने गरेको उल्लेख गरे।

गभर्नर पौडेलका अनुसार वित्तीय अपराधको आर्थिक क्षतिभन्दा यसको मानवीय प्रभाव अझ भयावह छ। यसले सामाजिक–आर्थिक असमानता बढाउनुका साथै युवा र बालबालिकालाई आपराधिक सञ्जालमा प्रयोग गरिने जोखिम बढाएको उनले बताए। नवीन सोच र सिर्जनशीलतामा लाग्नुपर्ने युवा पुस्तालाई अपराधमा संलग्न गरिनु सबैभन्दा खतरनाक परिणाम भएको उनको भनाइ छ।

उनले सीमानाविहीन वित्तीय अपराधले कानूनी छिद्र र प्रविधिगत कमजोरीको फाइदा उठाउँदै तीव्र गतिमा रकम ओसारपसार गर्ने गरेको उल्लेख गर्दै यस्तो अपराध नियन्त्रणका लागि प्रतिक्रियात्मकभन्दा निरोधात्मक सुपरीवेक्षण आवश्यक रहेको बताए। वित्तीय समावेशीकरणमा असर नपर्ने गरी जोखिममा आधारित सुपरीवेक्षण प्रणाली लागू गर्नुपर्नेमा उनले जोड दिए।

गभर्नर पौडेलले बैंकिङ, बीमा, धितोपत्र र सहकारी क्षेत्रका सबै नियामक निकायले सामूहिक रक्षापंक्तिको रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै आजको जोखिम मात्र टार्ने नभई भविष्यका अनिश्चितता सामना गर्नसक्ने सक्षम वित्तीय प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading