काठमाडौँ — सस्तो मूल्यमा बिलसहितको सुन दिने प्रलोभन देखाई ६० लाख रुपैयाँ लुटपाट गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।
घटना गत माघ १४ गते दिउँसो काठमाडौँ महानगरपालिका–१४ स्थित घ्याखेलमा भएको थियो। सस्तोमा सुन पाउने आशमा पीडित ६० लाख रुपैयाँ नगद बोकेर तोकिएको स्थानमा पुगेका थिए। तर त्यहाँ सुन नदिई ८–९ जनाको समूहले पीडितलाई घेराबन्दी गरी कुटपिट गर्दै साथमा रहेको नगद रकम लुटेर फरार भएका थिए।
लुटपाटसम्बन्धी उजुरी परेपछि अनुसन्धानमा खटिएको प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको हो। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० घर भई भक्तपुर बस्ने २७ वर्षीय दीपक आले मगर, रसुवाको नौकुण्ड गाउँपालिका–३ घर भई तार्केश्वर बस्ने ३२ वर्षीय विक्रम तामाङ, नुवाकोटको ककनी गाउँपालिका–७ घर भई तार्केश्वर बस्ने २८ वर्षीय जीवन तामाङ रहेका छन्। उनीहरूलाई माघ १८ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, नवलपरासीको कावासोती नगरपालिका–१३ घर भई काठमाडौंको एयरपोर्ट क्षेत्रमा बस्दै आएका ३८ वर्षीय कर्णबहादुर सुनारलाई माघ २० गते टेकुबाट पक्राउ गरिएको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट लुटिएको रकममध्ये ९ लाख ४२ हजार रुपैयाँ बरामद गरेको छ। साथै घटनामा प्रयोग भएका तीन थान मोटरसाइकल, पाँच थान मोबाइल फोन र विभिन्न कम्पनीका १३ थान सिमकार्ड पनि बरामद गरिएको छ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।












Leave a Reply