काठमाडौं प्रहरीले शंकास्पद क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा २४ वर्षीय मोहम्मद साफे विरुद्ध करिब १९ करोड ८१ लाख रुपैयाँ बराबरको रकमको मनी लन्ड्रिङ मुद्दा दायर गरेको छ।
बारा जिल्लाको कलैया उपमहानगरपालिका–२० निवासी साफेलाई भद्रकाली क्षेत्रबाट पक्राउ गरिएको हो। पक्राउका क्रममा प्रहरीले उनका दुई थान मोबाइल फोन बरामद गरेको थियो, जसमा क्रिप्टोकरेन्सी कारोबारसँग सम्बन्धित प्रमाण फेला परेको प्रहरीको भनाइ छ।
बरामद मोबाइल फोनको डिजिटल फरेन्सिक परीक्षण गर्दा थप प्रमाणहरू पनि भेटिएको प्रहरीले जनाएको छ। प्रारम्भिक बयानका क्रममा साफेले मुराद आलम नामक एक व्यक्तिको माध्यमबाट क्रिप्टोकरेन्सी कारोबार गर्ने गरेको स्वीकार गरेका छन्। सो कारोबारको बदलामा उनले प्रति महिना २०० देखि २५० अमेरिकी डलर पारिश्रमिक पाउने गरेको पनि खुलाएका छन्।
उक्त प्रकरणमा प्रहरीले शंकास्पद कारोबार भएको बराबर रकम मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।












Leave a Reply