धरान, भदौ ७ – धरान एकता समाजका संरक्षक सन्दीप श्रेष्ठको सक्रिय पहलमा धुम्बाराहीस्थित स्मार्ट दरबार, शंखा पार्कमा तिज विशेष सांस्कृतिक कार्यक्रम–२०८२ भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला र विशेष अतिथि मङ्गलबारी सिंह फाउन्डेसनकी अध्यक्ष सिर्जना श्रेष्ठ सिंहको उपस्थिति थियो। दुवै अतिथिले नेपाली समाजमा महिलाको योगदान, तीज पर्वको सांस्कृतिक महत्व तथा समाजिक एकताको भूमिकाबारे शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख आकर्षणमध्ये समाजसेवी तथा अन्तर्राष्ट्रिय महिला रेस्लर मुना श्रेष्ठलाई सम्मान गरिएको थियो। नेपाली खेलकुद र समाजसेवामा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै धरान एकता समाजले उहाँलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरेको हो। उपस्थित दिदीबहिनी, आमा तथा युवापुस्ताले मुना श्रेष्ठको उपलब्धिमा गर्व प्रकट गरेका थिए।
सन्दीप श्रेष्ठको संयोजनमा सम्पन्न कार्यक्रममा विभिन्न तीज गीत, नृत्य, कविता वाचन तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएका थिए। हरियो चुरा, रातो पोते र रंगीन पोशाकमा सजिएका सहभागीहरूले माहोललाई अझ रमाइलो बनाएका थिए।
समाजका अध्यक्ष सनी श्रेष्ठसहित पदाधिकारीहरू, समुदायका अग्रज, युवा तथा महिलाको उत्साहपूर्ण उपस्थिति रहेको कार्यक्रमलाई सफल बनाउन सन्दीप श्रेष्ठको नेतृत्वलाई विशेष रूपमा सराहना गरिएको थियो। आयोजक समितिका अनुसार, यस्ता कार्यक्रमले सांस्कृतिक परम्परा जगेर्ना गर्नका साथै नयाँ पुस्तामा सकारात्मक प्रेरणा दिने विश्वास लिइएको छ।
