मानिस जन्मिँदा कहिलेकाहीँ नियतिको खेल यस्तो निर्दयी हुन्छ कि, उसले जन्मिनासाथै समाजको हाँसो होइन, आँसु पाउँछ। कतै जन्म एक उत्सव हुन्छ भने कतै जन्म एउटा शापझैँ ठानिन्छ। तर त्यही शापलाई वरदानमा बदल्ने केही साहसी आत्माहरू यस धर्तीमा जन्मिन्छन्। त्यस्ता आत्माले आफ्नो मात्र होइन, अरू धेरैको जीवन बदल्ने शक्ति बोकेका हुन्छन्।
यसैको ज्वलन्त उदाहरण हुन् – तिलबहादुर कार्की।
पाँचथरको सुदुर गाउँमा जन्मिएका, दुवै हात र खुट्टामा ६–६ औँला भएका कारण समाजले “अशुभ” भनेर लखेटेका यो पात्र, आज सयौँ अनाथ र असहाय बालबालिकाका ‘बुबा’ बनेका छन्।
जीवनको प्रत्येक मोडमा अपमान, पीडा, अस्वीकार र निराशा पाएका उनले आफ्ना आँसुका धारा रोकेनन्, बरु ती आँसुहरूलाई उदारताको सागरमा बदलिदिए।
उनको जीवन भन्नासाथै हामी आँसु, संघर्ष, आत्महत्या प्रयास, सडकमा माग्दै बाँच्ने पीडा, अनि अन्ततः अनाथ–अपाङ्ग बालबालिकाका लागि खोलिएको ‘सयुक्त आपाङ्ग एकता आवाज केन्द्र’ सम्मको प्रेरणादायी यात्रा सम्झिन्छौँ।
बाल्यकालको पीडा : जन्मनासाथ लखेटिएको छोरो
२०२९ साल असार १० गते, पाँचथर जिल्लाको सराङडाँडा, वडानं ४ मा एउटा बालक जन्मियो।बालक जन्मिँदा गाउँमा खुसीको माहोल हुनुपर्ने हो, तर यहाँ उल्टो भयो।कारण? उक्त बालकका हात र खुट्टा दुवैमा ६–६ वटा औँला थिए। जम्मा २४ वटा औँलासहित जन्मिएका थिए तिलबहादुर कार्की।
समाजलाई यस्तो अद्वितीय रूपले सजिएको बच्चा कुनै ‘दैवी कृपा’ नभई ‘अलक्ष्मी’को प्रतिरूप लाग्यो। अन्धविश्वासले ग्रस्त गाउँलेले आमालाई दोष दिए –“अलक्षिनी आईमाईले यस्तो अपाङ्ग छोरो जन्माई!”त्यसरी दोषी बनाई दिइएको आमा हर्कमाया कार्कीलाई गाउँवासीहरूले अपमानको डण्डीमा उभ्याइदिए। परिणामतः समाजले उनलाई लखेट्यो, बहिष्कार गर्यो।
आमाको माया र पीडा : सिरकभित्र १८ महिना
आमा हर्कमायाको हृदयभित्र अपार पीडा थियो। समाजले धकेले पनि मातृत्वले धकेल्न सकेन।उनले १८ महिना आफ्ना छोरालाई सिरकभित्र लुकाइराखिन्। अनुहार मात्रै देखाएर बाहिर ल्याउँथिन्, हात–खुट्टा कसैले नदेखोस् भनेर लुकाउँथिन्।
समाजलाई शान्त पार्न, छोरालाई बचाउन, आफ्ना आँसु पुछ्न उनले गरेको यो संघर्ष अद्वितीय थियो। तर, गाउँलेहरूले दबाब बढाउँदै लगे।आमा–छोरालाई दिनरात टर्चर गरियो। आखिरमा आमाको हितका लागि पनि तिलबहादुरलाई समाजबाट टाढा राख्नुपर्ने अवस्था आयो।
निराशा र आत्महत्या प्रयास
९ वर्षको उमेरमा एउटा बालकले आत्महत्या गर्न चाहनु कस्तो वेदनादायी अवस्था होला? तिलबहादुरको जीवनमा त्यो कालो दिन आयो।स्कुल पढ्ने उमेरमा उनलाई समाजको अपमानले यति थिच्यो कि, उनले बाँच्नभन्दा मर्न सजिलो ठाने।
विष खाए, जीवनलाई अन्त्य गर्न खोजे। तर नियतिले उनलाई बचायो – वान्ता र रिगटा भएर।त्यसरी उनी जोगिए, तर जीवन अझै अन्धकारमय नै थियो।
काठमाडौँको सडक : माग्दै बाँच्ने जीवन
निराशा बोकेर ९ वर्षकै उमेरमा उनले गाउँ छाडे। नाइट बसको हुटमा लुकेर काठमाडौँ आए।काठमाडौँमा उनी ‘पशुपति’ को घाटमा बस्न थाले। लास जलाउने ठाउँलाई उनले आफ्नो ओछ्यान बनाए।जीवन बाँच्ने उपाय एउटै थियो – भीख माग्ने।
कहिले पशुपति, कहिले स्वयम्भू, कहिले सडक–चोक, उनी माग्दै हिंड्थे।
यसरी २०३८ सालदेखि २०६३ सालसम्मको करिब २५ वर्षको जीवन उनले मागेरै विताए।तर त्यो मागाई केवल पेट भर्नका लागि मात्रै थिएन। त्यो मागाईमा सपना थियो, आँसु थियो, भविष्य निर्माणको बीउ थियो।
२५ वर्षको तपस्या : पैसाबाट सपना जन्मियो
मागेरै उनले २५ वर्षमा जम्मा गरे – ५ लाख ५१ हजार २५ रुपैयाँ ६० पैसा।सामान्य मानिसलाई सानो रकम लाग्ला, तर एक माग्ने मान्छेका लागि यो थियो – तपस्या, आँसु, रगत र पसिनाको प्रतिफल।त्यही पैसाले उनको जीवनमा ऐतिहासिक मोड आयो।
प्रहरीको सहयोगमा उनले २०६४ सालमा एउटा संस्थाको स्थापना गरे –सयुक्त आपाङ्ग एकता आवाज केन्द्र।
२०६४ सालको ऐतिहासिक मोड : आश्रमको स्थापना
शुरूमा १३ जना अनाथ, असहाय, अपाङ्ग बालबालिकासहित उनको यात्रा सुरु भयो।भिखारी जीवन विताएको मान्छे, अब अरू अनाथ बालबालिकाका लागि ‘अभिभावक’ बने।आज, सोही आश्रममा करिब ६० जना बालबालिकाको जीवन उज्यालो छ।उनीहरूलाई खान, कपडा, पढाइ, उपचार, सबैको जिम्मेवारी तिलबहादुरकै काँधमा छ।
६० जीवनको उज्यालो : आश्रमको वर्तमान
आश्रममा बस्ने प्रत्येक बालकको जीवन कथा वेदनादायी छ।
कसैका आमाबाबु छैनन्, कोही सडकमा भेटिएका छन्, कोही अपाङ्ग छन्।तर ती सबैलाई तिलबहादुरले आफ्नो परिवार ठानेका छन्।उनी भन्छन् –“यी बच्चाहरू मेरो प्राण हुन्। म उनीहरूको लागि मरेर पनि बाँच्छु।”
दिनको खाना खर्च मात्र १२–१४ हजार।वर्षमा घरभाडा ५ लाख।
विद्यालय शुल्क २ लाख।यी सबैको बोझ उनी आफ्नै काँधमा बोक्छन्।
विदेशी भूमिमा सहयोगको खोजी : जगत घुम्ने समाजसेवी
नेपाल सरकारले वास्ता नगरे पनि, विदेशमा रहेका नेपालीहरूले उनलाई सहयोग गर्छन्।त्यसैले उनी कहिले जापान, कहिले अमेरिका, कहिले कोरिया, कहिले कतार, कहिले दुबई, कहिले मलेसिया, कहिले थाईल्याण्ड पुग्छन्।त्यहाँका नेपाली समुदायलाई आफ्ना बालबालिकाको कथा सुनाउँछन्।
र, उठेको पैसाले आश्रम चलाउँछन्।
उनी कुनै धनी व्यापारी होइनन्, उनी आफै माग्ने मान्छेबाट समाजसेवी बनेका हुन्।तर उनले देखाएको साहस, त्याग र समर्पणले उनलाई ‘महान समाजसेवी’ बनाएको छ।
चुनौती, आँसु र निरन्तर संघर्ष
जीवन यति सजिलो छैन।प्रत्येक दिन ६० बच्चाको पेट पाल्नु, पढाइ गराउनु, घरभाडा तिर्नु – त्यो सामान्य कुरा होइन।
उनी आफै अपाङ्ग छन्, तर उनका सपना अपाङ्ग छैनन्।
रातदिन संघर्ष गरेर पनि उनले हार मानेका छैनन्।
आज उनी ‘सडकको माग्ने’ होइनन्, ‘सडकका बालबालिकाका उद्धारकर्ता’ हुन्।
नेपाल सरकार र उदासीनता
दुखद कुरा के हो भने, नेपाल सरकारले अहिलेसम्म उनलाई कुनै ठोस सहयोग गरेको छैन।
जसले समाजलाई आफ्नो जीवन अर्पण गर्यो, उसलाई राज्यले बेवास्ता गर्यो।
तर उनी निराश छैनन्।
उनले भन्छन् –“सरकार नदिए पनि म यी बच्चाहरूका लागि मरुञ्जेल लड्छु।”
भविष्य दृष्टि र उनको सपना
तिलबहादुरको सपना छ –“यी बच्चाहरूलाई सक्षम बनाउन, शिक्षित बनाउन, भविष्यमा कसैको ढोकामा माग्नुपर्ने अवस्थामा नपार्न।”
उनी आफ्नो जीवनलाई समर्पण गरेर पनि, उनीहरूको जीवन बनाउन चाहन्छन्।उनले देखेको भविष्य केवल आफ्ना लागि होइन, सम्पूर्ण समाजका लागि हो।
समाजका लागि सन्देश : तिलबहादुर कार्कीको उज्यालो बाटो
उनको जीवनले सन्देश दिन्छ –
• समाजले लखेटे पनि हार मान्न हुँदैन।
• अपाङ्ग शरीर भए पनि सक्षम मनले संसार बदल्न सक्छ।
• आँसु र पीडाबाटै सबभन्दा ठूलो उज्यालो जन्मन्छ।
उपसंहार : नाम होइन, एउटा आन्दोलन
तिलबहादुर कार्की आज एउटा नाम मात्रै होइनन्, एउटा आन्दोलन हुन्।उनले समाजलाई देखाएका छन् –जीवनको सबैभन्दा अन्धकार क्षणबाट पनि उज्यालो जन्मिन्छ।
त्यसैले, आज हामी सबैले भन्न सक्ने अवस्था आएको छ –
“तिलबहादुर कार्की, तपाईं हाम्रो समाजको सच्चा हिरो, सच्चा प्रेरणा हुनुहुन्छ।”