काठमाडौं।नेपाल अमेरिका पत्रकार संघ (नेजा) का आजीवन सदस्य अनिल पाण्डेमाथि धम्की र गाली–गलौज भएको घटनाप्रति नेजाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेजाका महासचिव ईश्वरी न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित बे एरियामा बस्दै आएका पाण्डेमाथि विभिन्न आरोप लगाउँदै चरित्र हत्या गर्ने प्रयास गरिएको उल्लेख गरिएको छ। पाण्डेले आफूलाई सामाजिक सञ्जालमार्फत गाली–गलौज गरिएको, आपत्तिजनक शब्द प्रयोग गर्दै प्रचार गरिएको र ज्यानसमेत मार्ने धम्की आएको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, “मदरल्याण्ड नेपाल तथा सान फ्रान्सिस्को नजिकै रिचमण्डमा स्थापित मुक्तिनाथ धामका अध्यक्ष समेत रहेका पाण्डेलाई लक्षित गर्दै मन्दिरमा टाँगिएको तस्वीर भएको ब्यानरमा अपशब्द लेखिएको थियो भने पर्चा छापी वितरण समेत गरिएको जानकारी प्राप्त भएको छ।”
यसअघि पनि पाण्डेले प्रेस विज्ञप्ति जारी गरी अराजक समूहले आफ्नो चरित्र हत्या गर्दै जीवन सुरक्षा चुनौतीपूर्ण बनाएको भन्दै चिन्ता व्यक्त गरेका थिए। पाण्डेले भनेका छन्, “मेरो व्यक्तित्व र धार्मिक आस्थाको सुरक्षाका लागि मानवअधिकारकर्मी, लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने र धार्मिक स्वतन्त्रताको पक्षधर समुदायलाई म र मेरो संस्थाको सुरक्षाका लागि सादर अनुरोध गर्दछु।”
नेजाले आफ्नो सदस्यमाथि भएको यस्तो घटनाले लोकतान्त्रिक अभ्यास र धार्मिक स्वतन्त्रतामाथि प्रश्न उठाएको भन्दै आवश्यक ध्यानाकर्षण गराएको छ।















Leave a Reply