लमजुङ / जुलाई २७, २०२५—गम्भीर स्वास्थ्य समस्यामा परेका लमजुङका राजन पेलेको उपचार सहयोगार्थ बेलायतस्थित नेपाली समुदायले संकलन गरेको रु १,९७,११२.९६ रकम जुलाई २६, २०२५ मा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। उक्त अभियानको सहयोजकत्व सम्हाल्दै आउनुभएकी राजशान्ति सुनारले यस पवित्र मानवीय अभियानमा संलग्न सम्पूर्ण सहयोगी मनहरूलाई गहिरो सम्मान र आभार प्रकट गर्नुभएको छ।
वरिष्ठ समाजसेवी राजशान्ति सुनारले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै भन्नुभएको छ, “कुनै पनि मानवलाई समस्या पर्दा जात, धर्म, राजनीति नहेरी सहयोग गर्ने व्यक्ति नै सच्चा र असल आत्मा हो। हामीले धेरै पैसा दिन सकिएन होला, तर घरगाउँको छोरालाई बचाउन सकेसम्मको प्रयास गरेका छौँ।”
सहयोगमा जुटे बेलायतवासी नेपालीहरू
उक्त अभियानमा बेलायतबाट विभिन्न नेपाली संघ–संस्था, सञ्चारकर्मी र अभियन्ताहरूले सक्रिय भूमिका खेलेका थिए। बिविएस क्लब (BBC Club), लमजुङ खबर, चौतारी खबर, समुन्नति अनलाइन खबर, पत्रकार अनुज अधिकारी, श्याम शितल परियार, राजशान्ति फाउन्डेसनका सचिव समिप बिक, आस गुरुङलगायत धेरै मनकारी व्यक्ति तथा संस्थाहरूको उल्लेखनीय योगदान रहेको छ।
सुरु देखिनै साथ दिने सानु गुरुङलाई विशेष धन्यवाद
राजशान्ति सुनारले उक्त अभियानको सुरुआतदेखि निरन्तर साथ दिइरहनुभएका सानु गुरुङप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ। उहाँको सक्रियताले नै सम्पूर्ण सहयोगलाई उचित संयोजनमा रूपान्तरण गर्न मद्दत पुगेको सुनारको भनाइ छ।
अभियान सफल, तर मानवताको यात्रामा अझै लामो बाटो
राजशान्ति सुनारले अभियानमा जुटेका सबै मनकारी दाताहरूप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्यमा एक भएर साथ दिन विनम्र अनुरोध गरेकी छन्। उनले भनिन्, “कुनै पनि गाउँमा कसैलाई समस्या पर्दा त्यसको आँसु पुछ्न सक्नु नै सबैभन्दा ठूलो धर्म हो।”
साथै, उनले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मिठो सम्झना दिँदै, “तपाईंहरूको जीवन सधैँ सुखी, स्वस्थ र खुशीमय रहोस्,” भनी शुभकामना व्यक्त गरेकी छन्।