नयाँ दिल्ली, २१ जुलाई २०२५:सावन महिनाको आगमनसँगै भारतको राजधानी नयाँ दिल्लीमा हरियाली तीज परम्परागत शैलीमा, भक्तिभाव र सांस्कृतिक रङले भरिएको वातावरणमा उत्साहपूर्वक मनाइएको छ। दिल्ली स्ट्डी ग्रुपको आयोजनामा सम्पन्न १६औं हरियाली तीज महोत्सव चाणक्यपुरीस्थित पीएसओआई क्लबमा भव्यरूपमा सम्पन्न भयो। कार्यक्रममा दिल्लीका विशिष्ट जनप्रतिनिधिहरू, कूटनीतिज्ञहरू तथा सांस्कृतिक प्रेमीहरूको उल्लेखनीय उपस्थिति रह्यो।

दिल्ली स्ट्डी ग्रुपका अध्यक्ष, पूर्व विधायक तथा ग्लोबल भारत ब्रान्ड एम्बेसडर डा. विजय जोलीको नेतृत्वमा सम्पन्न यस महोत्सवमा भारतीय संस्कृतिको गौरवमय झल्को मात्र प्रस्तुत गरिएन, आम जनमानसमा सांस्कृतिक जुडाव र पहिचानको भावना समेत प्रवर्द्धन गरियो। रंगीन सारी, चुरा र मेहेन्दीले सजिएका महिलाहरूले गुजराती डाँडिया र बलिउड धुनमा नाच्न थालेपछि सम्पूर्ण वातावरण तीजमय भएको थियो।

कार्यक्रमको उद्घाटन दिल्ली सरकारका मन्त्री प्रवेश साहिब सिंह र सरदार मन्जिन्दर सिंह सिरसाले संयुक्तरूपमा गरे। उद्घाटन समारोहमा बोल्दै दुबै अतिथिहरूले “एक बोट आमाको नाममा सबैले रोपौँ” भन्ने अभियानको सन्देश दिँदै, हरियाली तीजलाई संस्कृतिको धरोहर र परिवार, परम्परा तथा महिलाको सम्मानको उत्सवको रूपमा व्याख्या गरे। डा. विजय जोलीले आफ्नो सम्बोधनमा भने, “प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको सांस्कृतिक पहिचानले अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ हासिल गरेको छ। दिल्ली स्ट्डी ग्रुपको तीज उत्सव भारतको सांस्कृतिक आत्मालाई जीवन्त राख्ने प्रयत्न हो।”

कार्यक्रममा चर्चित गायक प्रेम भाटियाले बलिउडका मीठा गीत गाएर दर्शकलाई मन्त्रमुग्ध बनाए। शशी वर्मा र उनकी टोलीले गुजराती डाँडिया नृत्य प्रस्तुत गरे भने राधा–कृष्ण तथा शिव–पार्वतीको भक्तिभावमा आधारित नृत्यहरूले सम्पूर्ण वातावरणलाई आध्यात्मिक र सांस्कृतिक उर्जाले भरिदियो।
यस सांस्कृतिक पर्वमा नयाँ दिल्ली नगरपालिकाका उपाध्यक्ष कुलजीत सिंह चहल, भाजपा राष्ट्रिय महामन्त्री दुष्यन्त गौतम, पूर्व केन्द्रीय मन्त्री सैय्यद शाहनवाज हुसैन र विजय गोयल, पूर्व सांसद रमेश बिधुडी, मेहरौली विधायक गजेन्द्र सिंह यादव, पूर्व विधायक महेन्द्र नागपाल लगायतका विशिष्ट व्यक्तिहरू उपस्थित थिए। साथै, नेपाल, मोजाम्बिक, टोगो, जर्मनी, श्रीलङ्का, कोरिया, पोल्याण्ड, चेक गणराज्य, ओमान र मौरिससलगायत देशका कूटनीतिज्ञहरूको उपस्थिति रहेर कार्यक्रमलाई अन्तर्राष्ट्रिय रङ प्रदान गरियो।
खानाको व्यवस्थापन दिल्ली स्ट्डी ग्रुपका उपाध्यक्ष गोपाल गर्गले गरेका थिए, जहाँ चाट–पकौडी, बेसनको चिल्ला, गोलगप्पा, पुरी–आलु, पालक पनीर, छोले–चावल, जल–जीरा लगायतका स्वादिष्ट परिकारहरूको समावेश गरिएको थियो। कोषाध्यक्ष अनिल जिन्दल (चार्टर्ड एकाउन्टेन्ट) ले पाहुनाहरूलाई परम्परागत मिष्ठान घेवरले मिष्ठान्न सेवा गरे।
दिल्ली स्ट्डी ग्रुपका प्रमुख पदाधिकारीहरू भूपेन्द्र कंशल, राम गोपाल गोयल, योगेश टण्डन, गजेन्द्र सोलंकी, विकुल बंशल, के.एस. दुग्गल, डा. अशोक शर्मा, जयकिशन गुप्ता, नसीम खाँ, डा. शिप्रा भारद्वाज, सुभाष नागर, शालु कुमारी र विजेन्द्र यादव कार्यक्रममा उपस्थित थिए। प्रचार–प्रसारको जिम्मेवारी उपाध्यक्ष मुकेश गुप्ताले प्रभावकारी रूपमा निर्वाह गरे। कार्यक्रमको सञ्चालन पूर्व महापौर तथा महामन्त्री (संगठन) नरेन्द्र कुमार चावलाले गरे। हरियाली लहरिया दुपट्टा तथा रंगीन चुरा वितरणको जिम्मा मीरा तोंगरियाले सम्हालिन्।
हरियाली तीजको यो १६औं संस्करण न केवल एक सांस्कृतिक उत्सवको रूपमा सीमित रह्यो, बरु भारतीय परम्पराहरूको संरक्षण तथा ती परम्परालाई आम नागरिकसम्म पुर्याउने एक सबल माध्यमका रूपमा पनि स्थापित भयो।