काठमाडौं, असार ९ – महामारीको कालो छायाँ फैलिएको बेला, जब धेरैजसोले घरभित्र लुक्नु नै सुरक्षा ठाने, केही व्यक्तिहरू भने सडकमै ओर्लिएर अरूका लागि ढोका खोले। त्यही बखत जन्मिएको थियो तुलसी श्रेष्ठको “निःशुल्क खाना सेवा” अभियान — जसले आज गंगालाल हृदय रोग केन्द्रसम्म आफ्नो सेवा विस्तार गरिसकेको छ।
आज दिउँसोको दृश्य गंगालाल अस्पताल परिसरमा निकै भावुक थियो। मास्क, पन्जा र सेवा भावले भरिएका हातहरूबाट न्यानो भात, तरकारी र माया परोसिइरहेको थियो। समाजसेवी श्रेष्ठ र उहाँको टोली बिरामीका आफन्तहरू, दिनभरिको संघर्षले थकित मानिसहरूलाई निःशुल्क भोजन गराउँदै थिए। त्यो सेवा, जसले भोक मात्र होइन, आशा पनि मेटाउँदै आएको छ।
कोभिड-१९ का दिनहरूमा रत्नपार्कबाट शुरू भएको यो अभियानले हजारौंलाई आत्मसम्मानसाथ पेट भरिदिने काम गरेको छ। अहिले बिर अस्पताल, तिलगङ्गा, ट्रमा सेन्टर हुँदै गंगालालजस्ता प्रमुख स्वास्थ्य संस्थाहरूमा नियमित खाना वितरण हुँदै आएको छ।
“यो काम आम्दानी होइन, आत्मसन्तुष्टि हो”, श्रेष्ठले एक अन्तरवार्तामा भनेका थिए। अहिले उहाँको यो सेवामा युवा, गृहिणी, व्यापारीदेखि साना व्यवसायीहरूसमेत जोडिएका छन् — जसले ‘सेवा’ भन्नु के हो भन्ने व्यावहारिक पाठ सिकिरहेका छन्।
सामाजिक सेवा खाली भाषण होइन, क्रियाकलापमा देखिनुपर्छ भन्ने उदाहरण तुलसी श्रेष्ठ र उहाँको टोली बनिरहेका छन् — जहाँ न त क्यामेरा छ, न त प्रचारको चासो — छ त केवल भोक मेट्ने भावना र मानवताको हात।