हर्क बहादुर ताम्राकार(एचबी),मेलबर्न, अष्ट्रेलिया – नेपाली खेलकुदका जीउँदो इतिहास, तेक्वान्दोका कालजयी योद्धा तथा राष्ट्रिय गौरव दीपक विष्टको सम्मानमा अष्ट्रेलियाको मेलबर्न सहरले अविस्मरणीय साँझ अनुभव गर्यो। शुक्रवार साँझ नेपाल कन्सुलेट अफिस भिक्टोरियाको आँगनमा आयोजित कार्यक्रममा, नेपालीहरूको उपस्थिति मात्र थिएन – त्यो बेला भावनाको भेल थियो, जहाँ सबैले दीपक विष्टको जीवन संघर्ष, सफलता र राष्ट्रप्रेमका कथाहरूलाई एक स्वरमा सलाम गरे।
चारपटक दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता, दुईपटक एशियन गेम्समा कांस्य पदक दिलाउने यो अद्वितीय नाम – दीपक विष्ट – अब खेलकुद मात्र होइन, समग्र नेपाली पहिचानका प्रतिक बनिसकेका छन्। कार्यक्रमको संयोजन एनआरएनए भिक्टोरियाका डिपुटी कोअर्डिनेटर तथा पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी महादेव धानुकले गरिरहँदा, कार्यक्रम स्थल एक भावुक मञ्चमा परिणत भएको थियो।
नेपाली समुदायको ऐक्यबद्धता र भावुक श्रद्धा
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरिया, नेपाली एसोसिएसन अफ भिक्टोरिया (NAV), र भिक्टोरियन नेपाली क्रिकेट एसोसिएसन (VNCA) को ऐतिहासिक सहकार्य देखिएको थियो। मेलबर्नका नेपालीहरूले खादा, मायाको चिनो र दिल खोलेर तालिका बीच विष्टलाई सम्मान गर्दा उपस्थित हर एक अनुहारमा गौरव मिश्रित उत्साह प्रस्ट देखिन्थ्यो।
भाबुक शब्दहरूमा डुबेको स्वागत मन्तव्य
भिक्टोरियाका वाणिज्यदूत निराजन गौलीले विष्टप्रति गहिरो सम्मान व्यक्त गर्दै भने, “उहाँले खेलमार्फत मात्र नभएर नेपालकै अन्तर्राष्ट्रिय परिचयलाई समृद्ध बनाउन अतुलनीय योगदान दिनुभएको छ। अब हाम्रो दायित्व हो – अष्ट्रेलियाका नेपाली प्रतिभाहरूलाई नेपालको राष्ट्रिय प्रतियोगितासम्म पु¥याउने सेतु बन्नु।”
खेलकुद, मातृभूमि र अवसरको संगममा विष्टको मन्तव्य
कार्यक्रमका प्रमुख आकर्षण दीपक विष्टले आफ्नो मन्तव्यमा भन्नुभयो, “देशले दिन नसकेको सुविधा, प्रवासी नेपाली समुदायले दिन सक्छ। यदि हामीले विदेशमा रहेका खेलाडीहरूलाई तालिम र प्रतिस्पर्धाको अवसर दिन सक्यौं भने, हामी विश्व मञ्चमा नेपाली झन्डा गाड्न सक्छौं।”
उहाँले एनआरएनए तथा अष्ट्रेलियास्थित संघसंस्थाहरूसँगको सहकार्यलाई खेलकुद विकासको सम्भावनाको ढोका भन्दै प्रशंसा गर्नुभयो।
अद्भुत उपस्थिति, ऐतिहासिक क्षणहरू
कार्यक्रममा पूर्व फिफा रेफ्री तथा राष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र सिक्देललाई समेत विशेष सम्मान गरियो। तेह्रौं सागका पदक विजेता दानबहादुर ऐरी, तेक्वान्दो यूथ ओलम्पियन रञ्जन श्रेष्ठ, पूर्व राष्ट्रिय खेलाडी भीम गौतम, तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू – लोकराज पौडेल, रवि केसी, राजेश चन्द आदिको उपस्थिति कार्यक्रमलाई गौरवशाली बनायो।
डा. खगेन्द्र थापाले आफ्नी छोरीलाई नेपालका राष्ट्रिय खेलकुद प्रतियोगितामा पठाउने इच्छा प्रकट गर्दा भावुक माहोल सिर्जना भएको थियो। “म मितिको प्रतिक्षामा छु,” उहाँले भने, “छोरीले राष्ट्रिय झन्डा बोकेर खेल्न पाओस् – त्यो मेरो सपना हो।”
मेलबर्नको त्यो साँझ केवल कार्यक्रम थिएन – त्यो एक चेतना थियो।
दीपक विष्टले देश, खेलकुद र स्वाभिमानका बीच रहेको अटुट नाता सम्झाउँदै भने, “म केवल एक खेलाडी होइन, म नेपालको सपना बोकेको एक सिपाही हुँ। मेरो जीत मेरो देशको जीत हो।”
“हामी जहाँ छौं, नेपाल त्यहीँ छ,” भन्ने नारासँग गुञ्जिएको मेलबर्नको आकाशले त्यो रात दीपक विष्टलाई मात्र होइन, सम्पूर्ण नेपाली खेलकुदलाई सम्मान गर्यो।