काठमाडौं, साउन १४— पर्यटन तथा पर्वतारोहण क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव बटुलेका युवा व्यवसायी नामराज गौलीले नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामी निर्वाचनमा महासचिव पदको लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। संघको निर्वाचन भदौ ७ गते (अगस्ट २३, २०२५) मा हुने तय भएको छ।
सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै गौलीले संस्थागत सुधार, संगठनात्मक सुदृढीकरण र पारदर्शिता आफ्नो प्राथमिकता रहेको बताएका छन्। “तपाईंहरूको समर्थन र सद्भावनाको अपेक्षासहित म नेपाल पर्वतारोहण संघको महासचिव पदमा उम्मेदवारी घोषणा गर्दछु,” उनले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन्।
अनुभव र नेतृत्व क्षमताका धनी
थमेल, काठमाडौंमा आधारित सफल पर्यटन व्यवसायी नामराज गौली हाल एनएमएको कार्यसमिति सदस्यका रूपमा क्रियाशील छन्। उनले अघिल्लो कार्यकालमा ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (TAAN) लगायतका थुप्रै संस्थाहरूमा नेतृत्वदायी भूमिका निभाएका छन्।
Outfitter Treks and Expedition का प्रबन्ध निर्देशक समेत रहेका गौली पर्वतारोहण व्यवसायमा इमानदार, कुशल व्यवस्थापक र नवीन सोचका धनी व्यक्तित्वको रूपमा चिनिन्छन्। नेपाललाई अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा अझ सशक्त बनाउने नेतृत्व अहिलेको आवश्यकता रहेको उनको भनाइ छ।
भविष्यको लागि स्पष्ट दृष्टिकोण
गौलीले एनएमएलाई आधुनिक आवश्यकता अनुसार सुदृढ बनाउने, सदस्यहरूको हकहित सुनिश्चित गर्ने र अन्तर्राष्ट्रिय सहकार्यलाई थप बलियो बनाउने प्रतिबद्धता जनाएका छन्। “मेरा मुख्य प्राथमिकता एनएमएलाई वर्तमान समयको माग अनुसार अघि बढाउने, सदस्य अधिकारको रक्षा गर्ने र अन्तर्राष्ट्रिय समन्वय विस्तार गर्नु हुनेछ,” उनले ग्लोबल अनलाइन टेलिभिजन सँगको अन्तर्वार्तामा बताए।
निर्वाचनप्रति चासो बढ्दै
गौलीको उम्मेदवारी घोषणासँगै एनएमएको महासचिव पदको प्रतिस्पर्धा निकै चाखलाग्दो र प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ। यस निर्वाचनले नेपाल पर्वतारोहण क्षेत्रको भविष्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पर्यटन उद्योगका सरोकारवालाहरू उम्मेदवार र तिनका एजेन्डाप्रति गहिरो चासो देखाइरहेका छन्।
गौलीको योजनाबद्ध दृष्टिकोण, नेतृत्व क्षमताको विश्वास, र संगठन सुधारको अठोटले उनलाई बलियो उम्मेदवारको रूपमा प्रस्तुत गरेको छ।