काठमाडौं, गोकर्णेश्वर ।काठमाडौं जिल्लामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले दोस्रो स्थान हासिल गरेकोमा हर्ष प्रकट गर्दै खेलाडीहरुलाई आज विशेष कार्यक्रममार्फत सम्मान गरिएको छ। साथै, जिल्लाबाट छनोट भई प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन लागेका खेलाडीहरुलाई बिदाइ पनि गरियो।
कार्यक्रम आज गोकर्णेश्वर नगरपालिका कार्यालयको हलमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता नगर युवा तथा खेलकुद विकास समितिका संयोजक सञ्जय लामाले गरेका थिए भने नगरप्रमुख दीपक रिसाल प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
उक्त अवसरमा जिल्ला स्तरमा स्वर्ण पदक जिती बागमती प्रदेशको लागि छनोट भएका २१ जना खेलाडीहरूलाई खादा र माला लगाएर सम्मान गरियो। उनीहरूलाई आगामी प्रदेशस्तरीय प्रतियोगिताको लागि शुभकामना दिँदै नगर प्रमुख रिसालले खेलाडीहरूलाई देश तथा नगरको गौरव बन्न प्रेरणा दिनुभयो।
नगर प्रमुख रिसालले भन्नुभयो, “गोकर्णेश्वर नगरपालिकाका खेलाडीहरू दिनप्रतिदिन उत्कृष्टता हासिल गर्दै गएका छन्। यसपटकको प्रदर्शनले हामी सबैलाई गर्वित बनाएको छ। प्रदेशस्तरीय प्रतियोगितामा पनि उत्कृष्ट नतिजा ल्याउने विश्वास लिएका छौं। नगरपालिका सधैँ खेलकुदको विकासमा प्रतिबद्ध रहनेछ।”
कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि, प्रशिक्षक, अभिभावक तथा नगरपालिका अधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। खेलाडीहरूमा उत्साह, आत्मविश्वास र सफलताको दृढ अठोट देखिन्थ्यो।
कार्यक्रमको अन्त्यमा संयोजक सञ्जय लामाले खेलाडीहरूलाई शुभकामना दिँदै भने, “तपाईंहरू मार्फत हाम्रो नगरपालिका चिनिनेछ। मेहनत, अनुशासन र आत्मविश्वासको बलमा तपाईँहरूले अझ धेरै सफलताहरू हासिल गर्नुहुनेछ भन्ने पूर्ण विश्वास छ।”
गौरवमय उपलब्धि हासिल गरेका खेलाडीहरूलाई नगरस्तरबाट गरिएको सम्मानले उनीहरूलाई थप प्रेरणा दिने विश्वास नगरपालिकाले लिएको छ।
