तोचिगी, जापान –“रितिरिवाज, संस्कृति र एकताको जयघोषसहित” जापानको तोचिगी प्रिफेक्चरमा पहिलोपटक ऐतिहासिक नेपाली फेस्टिबल आयोजना हुँदैछ। २१ जुन २०२५, शनिबारका दिन तोचिगीको Lightcube Utsunomiya मा आयोजना हुने उक्त महोत्सवमा बिहान १० बजेदेखि साँझ ७ बजेसम्म नेपाली कला, संस्कृति, भाषा, भेषभूषा, र खानाका विविध परिकारहरु प्रदर्शित गरिनेछ।

गैरआवासीय नेपाली संघ (NRNA) तोचिगी क्षेत्रको संयोजनमा आयोजना हुने उक्त महोत्सवको नेतृत्व एनआरएनए तोचिगी क्षेत्रले गरिरहेका छन्।
एनआरएनए तोचिगी क्षेत्रका उपसंयोजक ओम गुरुङ्ले सामाजिक सञ्जालमार्फत सम्पूर्ण जापानवासी नेपालीहरूलाई परिवारसहित उपस्थित भई एकताको सन्देश फैलाउन हार्दिक आमन्त्रण गरेका छन्।
कार्यक्रममा बालबालिका, महिला, युवा र ज्येष्ठ नागरिकको उत्साहजनक सहभागिता रहनेछ भने, जापानी समुदायसँग सांस्कृतिक आदानप्रदानका साथै नेपाली समुदायको पहिचानसम्बन्धी विविध कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएका छन्।
SBI Remit र Everest Co-operation Ltd ले फेस्टिबललाई Event Partner को रुपमा सहयोग गरेका छन्।
ओम गुरुङले भनेका छन्—
“अब एक आपसी सहकार्य र भाइचारा बनाउने बेला हो। हामी प्रवासी भूमिमा भए पनि हाम्रो संस्कृति, भाषा र भेषभूषा गुमाउनु हुँदैन।”
उक्त फेस्टिबलले जापानमा रहेका नेपाली समुदायबीच आत्मपहिचान, एकता र संस्कृतिप्रतिको गर्वलाई पुनः बलियो बनाउने अपेक्षा गरिएको छ। यो केवल महोत्सव होइन, प्रवासी भूमिमा नेपाली आत्माको उत्सव हो।