एचबी ताम्राकार, काठमाडौं — नेपाली उद्योग क्षेत्रका अग्रणी व्यक्तित्व, सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले हालै सम्पन्न ‘PAA’ कार्यक्रममा विश्व प्रसिद्ध उद्यमी र परोपकारी विल गेट्ससँग ऐतिहासिक भेट गरेका छन्। कार्यक्रममा दुईबीच नेपालको समसामयिक चुनौतीहरू — विशेषतः स्वास्थ्य र रोजगारी — का विषयमा गहन र अर्थपूर्ण संवाद भएको चौधरीले जनाएका छन्।
विल गेट्सजस्तो विश्वव्यापी प्रभावशाली व्यक्तित्वसँगको यो भेटलाई चौधरीले “गौरवको अवसर”को रूपमा उल्लेख गर्दै भनेका छन्, “हामीबीच नेपालको स्वास्थ्य क्षेत्र, रोजगारीको अवस्था तथा यसमा सुधार ल्याउने दीर्घकालीन योजनाबारे निकै सघन छलफल भयो। यो भेट केवल औपचारिकतामा सीमित थिएन, गम्भीर नीतिगत विमर्श भएको भेट थियो।”
उनले गेट्स फाउन्डेसनसँगको साझेदारीको सन्दर्भमा स्मरण गरे — “२०१५ को विनाशकारी भूकम्पदेखि लिएर कोभिड महामारीसम्म र बालियो नेपालमार्फत पोषण अभियानसम्मको हाम्रो सहकार्य अहिले दशक लामो भएको छ। अब हामी यसलाई अझ गहिरो बनाउँदै, विश्वभर सफल भएका गेट्स फाउन्डेसनका स्वास्थ्य परियोजनाहरू नेपाल भित्र्याउने तयारीमा छौं।”
विनोद चौधरीको यो पहलले नेपाललाई अन्तर्राष्ट्रिय सहयोग र नवप्रवर्तनको केन्द्रमा ल्याउने सम्भावना जगाएको छ। स्वास्थ्य, पोषण, रोजगारीजस्ता मूलभूत क्षेत्रमा गेट्स फाउन्डेसनको सहयोगले नेपालको दीर्घकालीन विकास योजनामा टेवा पुर्याउने विश्वास गरिएको छ।
चौधरीले आफ्नो सामाजिक संजालमार्फत भनेका छन्, “हामी सँगसँगै नेपालमा दीर्घकालीन प्रभाव पार्ने काम गर्न प्रतिबद्ध छौं।”
नेपालका लागि यो भेट केवल एउटा औपचारिकता नभएर अन्तर्राष्ट्रिय सम्बन्ध, साझेदारी र विश्वस्तरीय स्वास्थ्य र विकास मोडल नेपालमा कार्यान्वयन गर्न सकिने सुनौलो अवसरको संकेतका रूपमा हेरिएको छ।