गोरखा, बुढी गण्डकी किनार | एस नेपाल न्यूज रिपोर्ट ।कहिले सुरू हुने? कहिले पूरा हुने? भन्ने प्रश्नले बुढी गण्डकी जलविद्युत आयोजना घेरिएको छ। मुलुकको बहुप्रतिक्षित आयोजना मानिएको यो योजनाको निर्माणमा लगातार ढिलाइ हुँदा स्थानीय मात्र होइन, सम्पूर्ण देशवासी निराश छन्।
यसै सन्दर्भमा, बुढी गण्डकी आयोजनास्थलमै पुगेर जनताको आवाज संकलन गर्ने क्रममा एस नेपाल न्युजका अध्यक्ष तथा पत्रकार एचबी ताम्राकारले तयार पारेको विशेष रिपोर्टले नयाँ बहस सिर्जना गराएको छ।
स्थानीय बासिन्दाको साथमा नदी किनारमै पुगेर उनीहरुले आयोजना अलपत्र परेको विषयमा खुलस्त बोलेका छन्। “हामीले घरबार गुमायौं, आशा गर्यौं—अब विकास आउँछ, तर दशक बित्यो, आयोजना अझै कागजमै छ,” स्थानीय एक नागरिकको पीडा थियो।
यो आयोजनाका अवधारणा पिता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि गोरखा कै स्थानीयसंग प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, “बुढी गण्डकी मेरो सपना हो। यो आयोजनालाई अब ढिलो नगरी अघि बढाउनु जरुरी छ। आवश्यक परे म जनताको साथमा सडकमा आउन तयार छु।”
उनको यो घोषणाले राजनीतिक तहमा पनि तरंग ल्याएको छ। विकासका नाममा विस्थापित भएका नागरिकहरू अहिले फेरि संगठित रूपमा आवाज उठाउँदै छन्। रिपोर्टको क्रममा थुप्रै स्थानमा जनता आफैँ योजना स्थलमा भेला भएका थिए।
रिपोर्ट तयार पार्ने क्रममा एचबी ताम्राकारले जनताको पीडा मात्र होइन, बुढी गण्डकीको प्राकृतिक सौन्दर्य पनि क्यामेरामा कैद गरेका छन्। कलकल बग्ने नदी, हरियाली पहाड र आशामा बाँचेका नागरिक—यी सबै तस्बिरहरूले एउटा अधुरो सपनाको कथा बोल्छन्।
यो रिपोर्टले सरकार, सरोकारवाला र नीति निर्माताहरूलाई तत्काल गम्भीर ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ। जनताले भने अब प्रश्न गरिरहेका छन्—“हामी अझै कति पर्खने?”