काठमाडौं — नेपाली कांग्रेसका युवा नेता डा. अबूल हुसैन अन्सारीले राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको पछिल्लो अभिव्यक्तिप्रति कडा असन्तुष्टि जनाएका छन्। शाहीले भारतको कश्मिरमा नेपाली नागरिकको हत्या भएपछि संवैधानिक आयोगहरू मौन रहेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए, जसलाई लिएर अन्सारीले आपत्ति जनाउँदै जवाफी अभिव्यक्ति दिएका हुन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अन्सारीले “मुस्लिम समुदाय हो, इस्लाम धर्म हो” भन्ने स्पष्ट ज्ञान लिन शाहीलाई आग्रह गरे। उनले लेखे, “विदेशबारे बोल्ने हक मुस्लिम आयोगलाई छ भन्छन् शाहीज्यू, कुन आयोग कुन प्रयोजनले बनेको हो थाहा छ? आदिवासी, थारू, दलित, मधेसी आयोग पनि के कुनै धर्मका लागि बनेका हुन्?”
उनले थप प्रश्न गरे, “नेपाली नागरिक मरेको विरोध कुन नेपालका मुस्लिमले गरेनन्? हिन्दूको रक्षा गर्दा काश्मिरमा मुस्लिम युवा पनि मारिएका छन् भन्ने यथार्थ बुझ्नुस्।”
शाहीले के भनेका थिए?
शाहीले बिहीबार काश्मिर घटनामा नेपाली नागरिकको मृत्यु हुँदा संवैधानिक निकाय मौन रहेको आरोप लगाएका थिए। उनले लेखेका थिए, “जुनसुकै बहानामा पनि नेपालीको हत्या हुनु दुखद हो, म सधैं यस्तो घटनाको विरोधमा उभिन्छु।” तर उनले संवैधानिक आयोगहरू, विशेष गरी मुस्लिम आयोगप्रति अप्रत्यक्ष असन्तुष्टि व्यक्त गरेका थिए।
अन्सारीको विरोध, संस्कृति मन्त्रालय र सभामुखसमक्ष ध्यानाकर्षण
डा. अन्सारीले उक्त अभिव्यक्तिलाई संविधानविपरीत र राष्ट्रिय एकतालाई कमजोर पार्ने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई मुस्लिम समुदायको सांस्कृतिक धरोहरको संरक्षणसम्बन्धी ध्यानाकर्षण पत्र बुझाएका छन्। सो पत्रमार्फत उनले सभामुखसमक्ष समेत ज्ञानेन्द्र शाहीका अभिव्यक्तिको विरोध गर्दै संवैधानिक प्रक्रियाअनुसार कारबाहीको माग गरेका छन्।
अन्सारीले भनेका छन्, “शाहीज्यूको अभिव्यक्ति नेपालको अखण्डता, समानता, स्वतन्त्रता, धर्मनिरपेक्षताको मूल मर्मविपरीत छ। भ्रम र द्वन्द्व सिर्जना गर्न खोज्ने अभिव्यक्तिबाट सावधान हुन आवश्यक छ।”
विवादको पृष्ठभूमि र संवेदनशीलता
भारतको काश्मिरमा भएको घटना र त्यसलाई लिएर नेपालको संवैधानिक आयोगहरूप्रति सार्वजनिकरूपमा उठेको प्रश्न अहिले सामाजिक सञ्जालमा बहसको विषय बनेको छ। मुस्लिम समुदायका नेताहरू उक्त टिप्पणीलाई धर्म र समुदायलाई मिसाएर गरिएको आक्षेपका रूपमा लिइरहेका छन् भने शाहीले राष्ट्रवाद र नेपाली नागरिकको सुरक्षाको पक्षमा आफू उभिएको बताइरहेका छन्।
यस विवादले मुलुकको धर्मनिरपेक्षता र सामाजिक सद्भावको पक्षमा गहिरो विमर्श आवश्यक भएको सन्देश दिएको देखिन्छ।