२०२५ सालको सुरुआतमा भारतमा भएको काश्मिर आतंकी हमला र त्यसपछि सुरु भएको युद्ध र तुरुन्तै गरिएको युद्धविरामले गम्भीर प्रश्नहरू जन्माएका छन्। यिनै घटनाक्रमहरूबारे केही गम्भीर प्रश्न उठाउन मलाई बाध्य बनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले दिएको कूटनीतिक, सैनिक र राजनीतिक प्रतिक्रियाको भित्री स्वरूप के हो? यो एक सामान्य सुरक्षा चुक थियो, रणनीतिक योजना थियो, वा सत्ताबाट चिप्लिने डरले रचिएको प्रोपोगन्डा?
काश्मिरको हत्या र असफल सुरक्षा संयन्त्र
७ लाख सेनाले घेरिएको काश्मिरमा २६ निर्दोष सर्वसाधारणको हत्या हुन्छ। त्यो पनि धर्म सोधी–सोधी। के यस्तो उच्च निगरानी र गोप्य संयन्त्र भएको क्षेत्रमा आतंककारी प्रवेश गर्न र हत्या गर्न सक्ने सामर्थ्य राख्थे? यो सामान्य हमला होइन, राज्य संयन्त्रकै भित्री कमजोरी, लापरबाही वा षड्यन्त्रको गहिरो सन्देश दिन्छ। अनि त्यो हमला गर्ने भनिएका आतंककारी अहिले कहाँ छन्? भारत सरकारले तिनीहरूलाई पक्राउ गर्न नसकेको हो कि गर्नै चाहेन?
अन्तराष्ट्रिय दबाब र युद्धविरामको बाध्यता
आक्रमणको दोष पाकिस्तानलाई लगाएर युद्ध घोषणा गरियो। गोदी मिडियाले हिन्दू-मुस्लिम र भारत-पाकिस्तानलाई एकै फ्रेममा चित्रित गर्न थाले। तर त्यो युद्ध तीन–चार दिन पनि टिक्न सकेन। किन? के भारतको सेनाले पराजय भोग्न लागेपछि युद्धविराम भयो? कि चीन, अमेरिका लगायत शक्तिराष्ट्रहरूको दबाबमा भारत पछि हट्यो?
यो युद्धविरामको समय र शैलीले संकेत गर्छ– युद्ध कुनै स्पष्ट नीति अन्तर्गत होइन, तर ध्यान मोड्ने ‘डाइभर्शन’को औजार थियो।
भित्रभित्रै नीतिगत संकटमा फसेको मोदी सरकार
काश्मिर हमला हुनु अगाडि मोदी सरकारलाई दुईवटा मुख्य संकटले घेरेको थियो:
- अमेरिकाले भारतमाथि लगाएको ट्यारिफ (व्यापार कर)
- मुस्लिम वक्फ बोर्डसँगको टकराव
यी दुबै संकटले संसदमा सरकार अल्पमतमा पर्न सक्ने अवस्था आएको थियो। जनताको ध्यान मोड्न राष्ट्रवादको कार्ड खेलियो। सर्जिकल स्ट्राइक, युद्ध घोषणा, र हिन्दू-मुस्लिम ध्रुवीकरण – यी सबै मिलेर सरकारको संकटलाई ओझेलमा पुर्याउने प्रयत्न गरियो।
के यो ‘प्रोपोगन्डा युद्ध’ थियो?
११ वर्षदेखि बीजपी र मोदी सरकारले हिन्दू-मुस्लिमको विभाजन गरेर राजनीति गर्दै आएको छ। यस्तो अवस्थामा काश्मिरमा यस्तो आतंकी हमला हुनु, त्यो धर्म आधारित हुनु, र त्यसको जवाफमा पाकिस्तानलाई दोष दिएर युद्ध गर्नु– सबैले गम्भीर सन्देह उत्पन्न गर्छ।
साथै, के मोदी सरकार आफैंले यो घटना रचेर पाकिस्तानमाथि हमला गरेर राष्ट्रवादको लहर बनाउन खोजेको हो? अनि तीन दिनमै युद्धविराम गर्नुको अर्थ के? यदि पाकिस्तान ‘आतंककारीको आधार’ हो भने तीन दिनमा त्यो आधार जति उखेल्न सकिन्थ्यो?
नेपालीको हत्या र भारतको जवाफदेहिता
काश्मिर हमलामा एक जना नेपाली नागरिकको पनि ज्यान गएको छ। भारत सरकारले यसको जवाफ दिने कि नदिने? सँगै प्रश्न उठ्छ – भारतीय भूमि, भारतीय सेनाको निगरानी, भारतीय सुरक्षातन्त्र भएको ठाउँमा विदेशी नागरिक मर्ने अवस्था कसरी सम्भव भयो?
मोदी सरकारका लागि अब समय छ – जवाफदेह बन्ने
कसरी हमला भयो? किन रोक्न सकिएन? आतंककारी कहां छन्? किन युद्ध गरियो? किन युद्धविराम गरियो? यस्ता हरेक प्रश्नको जवाफ भारत सरकारले दिनैपर्छ।
आफ्नो देशभित्र सुरक्षाको पूर्ण जिम्मेवारी लिन नसक्ने सरकारले अर्काे देशमाथि हमला गर्ने, धर्मका आधारमा मानिस मारेको छ भनेर प्रचार गर्ने, अनि अन्तर्राष्ट्रिय स्तरमा आफैँ पछि हट्ने – यो चरम विडम्बना हो।
यदि युद्धको कुनै नैतिकता र औचित्य छैन भने, त्यो युद्ध केवल चुनावी प्रोपोगन्डाको हिस्सा हुन्छ। अनि त्यो युद्धमा मर्ने निर्दोष नागरिकहरूको बलिदानको मूल्य कसले तिर्छ?
अन्तिम प्रश्न
भारतको गोदी मिडिया, आरएसएस, र बीजपी सरकारले रचेको यो कथा अन्ततः भारत र पाकिस्तान दुबै देशका जनताको साझा शान्तिप्रतिको आकांक्षामाथि खेलबाड हो कि होइन?
भारत सरकार, विशेषतः प्रधानमन्त्री नरेन्द्र मोदीले, यो विषयमा सदन, मिडिया र अन्तर्राष्ट्रिय समाजलाई जवाफ दिनैपर्छ।
– बिबि खराल
युवा नेता, नेकपा माओवादी केन्द्र