काठमाडौँ ।भारतस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा पुनः एक नेपाली विद्यार्थीको रहस्यमय निधन भएको घटनाले स्तब्ध पारिरहेको बेला भारतीय विद्यार्थी संगठन ‘अखिल भारतीय विद्यार्थी परिषद्’ (एबीभीपी)ले घटनाप्रति कडा आपत्ति जनाउँदै दोषीमाथि तत्काल कारबाहीको माग गरेको छ।
भर्खरै स्नातक तहको पहिलो वर्षमा भर्ना भएकी वीरगञ्जकी नेपाली छात्रा प्रिशा शाह बिहीबार साँझ विश्वविद्यालयको छात्रावासमा मृत अवस्थामा फेला परेकी हुन्। शाह परीक्षा दिनका लागि होस्टेलमै बस्दै आएकी थिइन्। झनै दुःखद पक्ष के छ भने उनी सोही होस्टेलमा बस्दै आएकी थिइन् जहाँ गत ४ फागुनमा अर्की नेपाली विद्यार्थी प्रकृति लम्सालको पनि शव फेला परेको थियो।
एबीभीपीले विज्ञप्ति जारी गर्दै भनेको छ, “केआईआईटी विश्वविद्यालयमा फेरि एक नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु अत्यन्त लज्जास्पद घटना हो। एकै प्रकृतिका घटनाहरू पटक–पटक हुँदा समेत राज्य सरकार र विश्वविद्यालय प्रशासन मौन बसेकोप्रति हाम्रो गम्भीर आपत्ति छ।”
एबीभीपीले घटनालाई केवल आत्महत्या भनेर पन्छ्याउन नहुने भन्दै निष्पक्ष छानबिनको माग समेत गरेको छ। विज्ञप्तिमा लेखिएको छ, “विद्यार्थीहरू मानसिक तनाव, दमन, भेदभाव र असहज शैक्षिक वातावरणका कारण ज्यान गुमाउन बाध्य छन् भन्ने कुराले गम्भीर संकेत दिन्छ। यसले विश्वविद्यालयको आन्तरिक अवस्था, अनुशासन र व्यवस्थापनमाथि ठूलो प्रश्न उठाएको छ।”
दुवै घटना बीच गहिरो सम्बन्ध हुनसक्ने भन्दै अनुसन्धानमा विशेष टोली गठन गर्न, सीसीटीभी फुटेज सार्वजनिक गर्न, छात्रावासको सुरक्षाको जाँच गर्न तथा मृतक विद्यार्थीका परिवारलाई न्याय दिन सम्बन्धित निकायले तत्परता देखाउन एबीभीपीले आग्रह गरेको छ।
यसैबीच, नेपाली समुदायमा पनि चिन्ता र आक्रोश बढ्दै गएको छ। लगातार नेपाली विद्यार्थीको मृत्युको खबरले भारतमा अध्ययनरत अन्य नेपाली विद्यार्थीहरूमा समेत त्रास फैलिएको छ।
सरकारले यस्ता घटनालाई गम्भीरतापूर्वक लिएर भारतीय पक्षसँग उच्चस्तरीय वार्ता गर्नुपर्ने मागसमेत उठेको छ। नेपाली विद्यार्थीहरूका लागि सुरक्षित, सहायक र सम्मानजनक अध्ययन वातावरण सुनिश्चित गर्न आवश्यक पहल गर्नुपर्ने आवाज दिन-प्रतिदिन बुलन्द हुँदै गएको छ।