राजेन्द्र ताम्राकार, काठमाडौं, वैशाख १६ – राप्रपाका युवा नेता देव गुरुङले गणतन्त्र नेपालको लागि असफल प्रयोग भएको भन्दै अबको नेतृत्व राजसंस्थाले गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
YNN मिडियालाई दिएको विशेष अन्तरवार्तामा उनले भने, “गणतन्त्रले देशमा शान्ति, स्थायित्व र विकास दिन सकेन। अब राजसंस्थाले जिम्मेवारी सम्हाल्नुपर्छ भन्ने जनअपेक्षा तीव्र बन्दै गएको छ।”
गुरुङले राप्रपाको जनस्तरको अभियानले पनि यही सत्य उजागर गरिरहेको बताए। उनले युवाहरूबीच राजसंस्थाप्रतिको आकर्षण बढिरहेको जिकिर गर्दै भने, “राजसंस्था नै राष्ट्रिय एकताको प्रतीक हो। हामी आधुनिक राजतन्त्रको पक्षमा छौं, जहाँ लोकतान्त्रिक मूल्य र जनताको सहभागिता कायम रहन्छ।”
यही क्रममा उनले नेता रवीन्द्र मिश्रमाथि भएको व्यवहारलाई अन्यायपूर्ण भन्दै गम्भीर टिप्पणी गरे। “देशका लागि सोच्ने, स्पष्ट दृष्टिकोण राख्ने नेताहरूलाई दबाउने प्रयास भइरहेको छ,” उनले भने, “रवीन्द्र मिश्रजस्ता स्वच्छ छविका व्यक्तिहरूमाथि गरिएको राजनीति दुर्भाग्यपूर्ण छ।”
उनले राष्ट्रिय राजनीतिमा वैकल्पिक विचार, नेतृत्व र प्रणालीको खाँचो औंल्याउँदै निष्पक्ष चुनाव र विचारको सम्मान हुने वातावरण बनाइनुपर्नेमा जोड दिए।
गुरुङले अन्त्यमा भने, “जनताको माया र विश्वास पाएको संस्था राजसंस्था हो। अब देशको मुहार फेरिन राजाले फेरि नेतृत्व लिनुपर्छ भन्ने आवाजलाई बेवास्ता गर्न सकिन्न।”