एचबी ताम्राकार, काठमाडौं — वैशाख १६, २०८२ ।नेपालमा पहिलो पटक कोरियन प्रविधिमा आधारित प्रिमियम गुणस्तरको चाउचाउ ‘हाङकुक’ को सफल परीक्षण उत्पादन सम्पन्न भएको छ। झन्डै तीन वर्षको अथक प्रयासपछि भैरहवामा स्थापित हिमालयन म्यानुफ्याक्चरिङ कम्पनी ले ‘हाङकुक’ नामक चाउचाउको व्यावसायिक उत्पादन सुरु गर्न लागेको हो।
कम्पनीका अध्यक्ष तथा कोरियामा स्थापित व्यवसायी विनोद कुँवरका अनुसार, यो चाउचाउ नेपालमै अत्याधुनिक कोरियन मेशिनबाट उत्पादन गरिएको पहिलो चाउचाउ हो। “हामीले नेपालमै यस्तो गुणस्तरको चाउचाउ उत्पादन गर्न सफल भयौँ, जुन गुणस्तरमा कुनै सम्झौता नगरी बनाइएको हो,” अध्यक्ष कुँवरले बताए।
८० करोड लगानी, १०० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी
उद्योगमा हालसम्म ८० करोड रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ। अहिलेको चरणमा १०० जनाभन्दा बढी नेपालीले प्रत्यक्ष रोजगारी पाइसकेका छन् भने भविष्यमा उत्पादन वृद्धि हुँदै जाँदा हजारौँलाई अप्रत्यक्ष रोजगारी दिने अपेक्षा गरिएको छ। उत्पादनमा दक्षता सुनिश्चित गर्न कोरियाबाट दक्ष प्राविधिकसमेत नेपाल ल्याइएको कम्पनीले जानकारी दिएको छ।
गुणस्तरमा अन्तर्राष्ट्रिय मानक, मूल्यमा नेपाली भावना
‘हाङकुक’ चाउचाउको प्याक तौल १३० ग्राम छ भने बजार मूल्य १३० रुपैयाँ तोकिएको छ। आयातित प्रिमियम चाउचाउहरू २००–२२० रुपैयाँसम्ममा बिक्री भइरहेका बेला, ‘हाङकुक’ले गुणस्तरीय उत्पादनलाई सहज मूल्यमा उपलब्ध गराउने भएको छ। कम्पनीको विश्वास छ— यो उत्पादनले नेपाली उपभोक्तालाई गुणस्तर र मूल्य दुवैमा नयाँ विकल्प प्रदान गर्नेछ।
अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्ने तयारी
कम्पनीले निकट भविष्यमा भारतसहित अन्तर्राष्ट्रिय बजारमा निर्यात विस्तार गर्ने योजना बनाएको छ। आवश्यक सबै कानुनी प्रक्रिया — खाद्य विभागको स्वीकृति, ब्रान्ड दर्ता लगायत — पूरा भइसकेको कम्पनीले जनाएको छ।
अध्यक्ष कुँवर विगतदेखि नै नेपालमा विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आएका एक सक्रिय गैरआवासीय नेपाली हुन्। उनी कोरियन मदिरा ‘सोजु’ को उत्पादन पनि नेपालमै गरिरहेका छन्।
“हाम्रो उत्पादन मातृभूमिको माया र उपभोक्ताको विश्वासको समिश्रण हो”
कम्पनी उपभोक्ताको सुझावलाई गम्भीरताका साथ आत्मसात गर्दै उत्पादनलाई थप सुधार गर्दै लैजाने अठोटमा रहेको छ। “हामीले मातृभूमिप्रतिको जिम्मेवारी र उपभोक्ताको माया झन् गहिरो महसुस गरेका छौँ,” अध्यक्ष कुँवरको भनाइ छ, “हाम्रो उद्देश्य बजारमा अन्तर्राष्ट्रिय गुणस्तरका उत्पादनहरू नेपालीकै हातबाट नेपाली माटोमै निर्माण गर्नु हो।”