हर्क बहादुर ताम्राकार(एचबी)कोलम्बो, श्रीलंका —कृष्णपुर नगरपालिका, कञ्चनपुरका मेयर हेमराज ओझाले हालै श्रीलंकास्थित नेपाली राजदूतावासमा महामहिम नेपाली राजदूत डा. पूर्णचन्द्र नेपालीसँग सौहार्दपूर्ण भेटघाट तथा छलफल सम्पन्न गर्नुभएको छ। भेटघाटका क्रममा राजदूत डा. नेपालीका साथै द्वितीय सचिव सागर भण्डारी, तृतीय सचिव अरेन्द्र महर्जन तथा अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।

मेयर ओझाका अनुसार उक्त भेट निकै सकारात्मक र सान्दर्भिक भएको थियो। श्रीलंकाको कर्मचारी प्रशासनप्रतिको राजदूत नेपालीको उच्च सम्मान र सराहना झल्काउने गरी छलफल भएको जानकारी दिइएको छ।
राजदूत डा. नेपाली नेतृत्वको टिम शालिन, शान्त र योजनावद्ध ढंगले कार्य गरिरहेको उल्लेख गर्दै मेयर ओझाले विशेषतः धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिइएको बताए। करिब ७० प्रतिशत बुद्ध धर्मावलम्बी रहेको श्रीलंकाबाट भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा धार्मिक पर्यटक भित्र्याउने अपार सम्भावनालाई लक्ष्य बनाई प्रचार–प्रसार र समन्वयको योजना अघि बढिरहेको जानकारी राजदूतावासबाट प्राप्त भएको छ।

उक्त अवसरमा नेपालबाट गएका पशु अधिकारकर्मी हरि प्रसाद जोशी र स्नेहा श्रेष्ठको पनि सहभागिता रहेको थियो। पशु अधिकार, धार्मिक सम्बन्ध र द्विपक्षीय समझदारीमा समेत छलफलहरू भएको बताइएको छ।
“शान्तिपूर्ण, गरिमामय र कूटनीतिक तहमा नेपालले प्रस्तुत गरिरहेको छविलाई थप मजबुत बनाउन महामहिम डा. पूर्णचन्द्र नेपालीज्यूको नेतृत्वमा भइरहेको कार्य प्रशंसायोग्य छ,” मेयर ओझाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउनुभएको छ।
अन्त्यमा, मेयर ओझाले श्रीलंकास्थित नेपाली राजदूतावास परिवारलाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।