टोकियो, जापान – नेपाली प्रवासी समुदायका लागि अत्यन्त गर्वको खबर ! गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अगुवाइमा जापानमा ‘नेपाल हाउस’ निर्माण हुने पक्का भएको छ। टोकियोदेखि सवा घण्टाको दूरीमा रहेको चिवा क्षेत्रमा यो महत्वाकांक्षी परियोजना अघि बढ्न थालेको छ।
नेपाल र नेपाली समुदायको सांस्कृतिक पहिचान, सामाजिक एकता र संस्थागत स्थायित्वलाई मूर्तरूप दिने ‘नेपाल हाउस’ निर्माणका लागि प्रारम्भिक चरणमा अत्यन्त उत्साहजनक उपलब्धि हासिल भएको छ। एनआरएनए जापानले गत वर्ष आयोजना गरेको १४औं नेपाल फेस्टिवलबाट ८३ लाख ८२ हजार ८ सय ११ येन बचत भएको सार्वजनिक गर्दै सो रकम ‘नेपाल हाउस’ निर्माणमा उपयोग गरिने जनाएको हो।
फेस्टिवलबाट २ करोड ३४ लाख आम्दानी, पारदर्शी खर्च र ठूलो बचत
एनआरएनए जापानका उपाध्यक्ष तथा फेस्टिवलका आर्थिक संयोजक कृष्ण गैरेका अनुसार उक्त फेस्टिवलबाट २ करोड ३४ लाख ६ हजार १ सय ११ येन आम्दानी भएको थियो भने १ करोड ५० लाख २३ हजार ३ सय येन खर्च भएको छ। बाँकी बचत रकम नेपाल हाउस निर्माणको पहिलो कोषका रूपमा सुरक्षित राखिएको छ।
राजदूतको समर्थन, एनआरएन नेताहरूको प्रतिबद्धता
आयब्यय सार्वजनिक कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले फेस्टिवलको सफल आयोजनामा हर्ष व्यक्त गर्दै नेपाल हाउस निर्माणका लागि नेपाल सरकार र दूतावासबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्ष रोबिन शेरचन, नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा, एनआरएनए एसिया प्यासिफिक क्षेत्रका उपसंयोजक दिपक कँडेल, महिला संयोजक अनिता गुरुङ, पूर्व अध्यक्षद्वय शिवप्रसाद पौडेल र देविलाल भण्डारी, सल्लाहकार बाबुराम भण्डारी, तथा विशेषज्ञ समिति सदस्य शालिकराम भण्डारीले पनि आ-आफ्ना धारणा राख्दै नेपाल हाउस निर्माणमा ऐक्यबद्धता प्रकट गरे।
५ करोड येन लागत, १,७४२ वर्गमिटर क्षेत्रफलको जग्गा सुरक्षित
एनआरएनए जापानका अध्यक्ष नविन निउरेले दिएको जानकारीअनुसार नेपाल हाउस निर्माणका लागि १,७४२ वर्गमिटर (५२८ च्युबो) क्षेत्रफलको जमिन चिवामा व्यवस्थापन भइसकेको छ। उनले भने, “बहुसांस्कृतिक केन्द्रको रूपमा निर्माण गरिने नेपाल हाउसको निर्माणमा जग्गा खरिदसहित अनुमानित ५ करोड येन खर्च हुने अनुमान छ।”
उक्त रकम विभिन्न स्रोतबाट — जापानका संघसंस्था, व्यवसायी, नेपाल सरकार, क्लाउड फण्डिङ आदि माध्यमबाट जुटाउने योजना रहेको पनि अध्यक्ष निउरेले स्पष्ट गरे।
नेपाल हाउस : संस्कृति, एकता र सम्भावनाको केन्द्र
नेपाल हाउस केवल भवन होइन — नेपाल र जापानबीचको मित्रता, नेपाली प्रवासी समुदायको गौरव, र आगामी पुस्ताको लागि स्थायी सम्पत्ति बन्ने उद्देश्य बोकेको परियोजना हो।
यो बहुसांस्कृतिक केन्द्रमा नेपाली भाषा, संस्कृति, कला, साहित्य, अध्यात्म, सामाजिक कार्यक्रम, आपतकालीन राहत कार्यहरू, तथा समुदाय एकत्रित गराउने विभिन्न कार्यक्रम आयोजना हुने अपेक्षा गरिएको छ।
भविष्यको आत्मविश्वास : प्रवासी नेपालीहरूको इतिहासमा अर्को कोसेढुङ्गा
नेपाल हाउसको निर्माणले एनआरएनए जापानको नेतृत्व क्षमता, नेपालीहरूको एकता र दीर्घकालीन सोचको प्रमाण दिनेछ। प्रवासी नेपाली समाजका लागि यो एक इतिहासको साक्षी बन्नेछ — जहाँ नेपालीपन जगेर्ना हुनेछ, र भविष्यको पुस्ताले जापानमा ‘नेपालको टुक्रा’ अनुभव गर्नेछन्।
यो परियोजना नेपाली माटोको सुगन्ध बोकेको ‘घर’ बन्नेछ — जापानको भूमिमा, नेपाली हृदयमा।