काठ्माण्डौ, वैशाख ११ गते– नेपाली कांग्रसका नेता तथा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाको नेतृत्वमा श्रीलंकामा भएको एउटा महत्वपूर्ण कूटनीतिक र प्रशासनिक भेटवार्ताले नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप मजबुत बनाएको छ।

कोलम्बो महानगरपालिकाका कार्यबाहक मेयर तथा वरिष्ठ आयुक्त पालिथा नानायक्कारा (Palitha Nanayakkara) सहितका अधिकारीहरूसँग सम्पन्न यो विशेष भेटवार्तामा नगर प्रशासन, वातावरण व्यवस्थापन, सार्वजनिक स्वास्थ्य, पर्यटन प्रवर्द्धन लगायतका विषयमा गहन छलफल भयो। भेटवार्तामा कोलम्बो सहरको सफा, हरियाली, व्यवस्थापन र कानुनी संयन्त्रप्रति नेपाली प्रतिनिधि टोली अचम्मित बनेको छ।

“श्रीलंकाको कोलम्बो शहर साँच्चिकै अनुकरणीय रहेछ। यहाँको फोहोरमैला व्यवस्थापनदेखि पशु स्वास्थ्य र पर्यटनसम्मका नीति, कार्यान्वयन र जनसहभागिताले हामीलाई गहिरो सन्देश दिएको छ,” मेयर ओझाले भने। उनले थपे, “कार्यपालिका, प्रशासन र कर्मचारीहरु एकदमै व्यावसायिक र उत्तरदायी देखिन्छन्।”

नेपाल पर्यटन बोर्डबाट उपलब्ध गराइएका प्रचार सामाग्रीहरु पनि मेयर ओझाले कोलम्बो नगर प्रमुख र अन्य अधिकारीहरुलाई हस्तान्तरण गरेका थिए, जसले नेपालको पर्यटन, विशेष गरी बौद्ध तीर्थ क्षेत्रका बारेमा जानकारी फैलाउने लक्ष्य राखिएको थियो।

खासगरी बौद्ध धर्मावलम्बी रहेको श्रीलंकामा बौद्ध जन्मस्थल नेपालबारे जानकारी न्यून रहेको देखिँदा मेयर ओझा केही चिन्तित पनि भए। “सन २०१८ मा नेपाल भ्रमण गरिसकेका पालिथा नानायक्काराजस्ता उच्च अधिकारीहरूसमेत बुद्ध जन्मस्थल लुम्बिनीबारे सीमित जानकारी राख्नु दुःखद पक्ष हो। यो हाम्रो कूटनीतिक र सांस्कृतिक प्रचारको कमजोरी पनि हो,” ओझाले खुलेर बताए।
तर उनले यस अवस्थालाई अवसरको रूपमा पनि लिएका छन्। उनका अनुसार, बौद्ध धर्ममा श्रद्धा राख्ने मुलुकसँगको सम्बन्ध बलियो बनाउँदै, नेपालबारेको सही र प्रभावकारी सूचना प्रवाह गर्न अब राज्य, स्थानीय तह र पर्यटन बोर्ड सबैले संगठित ढंगले काम गर्न जरुरी छ।

भेटघाटको अन्त्यमा मेयर ओझाको नेतृत्वमा नेपाली टोलीले कोलम्बो नगरपालिकालाई नेपाल भ्रमणको खुला निमन्त्रणा दिएको छ। भेटमा देखिएको आपसी सद्भाव र आत्मीयता उल्लेखनीय थियो। विशेष गरी नेपाललाई बुद्धको जन्मभूमिका रूपमा चिनाउने उद्देश्यले गरिएको यो पहलले दुवै देशबीचको धार्मिक, सांस्कृतिक र प्रशासनिक सम्बन्धमा नयाँ आयाम थपेको देखिन्छ।
नेपाल र श्रीलंकाबीचको जनस्तरीय सम्बन्ध अझै बलियो बनाउन मेयर ओझाजस्ता स्थानीय नेताहरूको विदेश भ्रमण र आपसी संवादद्वारा सिर्जना हुने सिकाइ र साझेदारी महत्वपूर्ण देखिएको छ।

यस अवसरमा मेयर हेमराज ओझाले सामाजिक सञ्जालमार्फत पनि आफ्नो सन्देश प्रवाह गर्दै श्रीलंकामा देखिएको सुव्यवस्था र कोलम्बो नगरपालिकाको उत्कृष्टता प्रति प्रशंसा प्रकट गरेका छन्। उनले नेपालका नगरपालिकाहरूले यस्ता सिकाइहरुलाई आत्मसात गरेर आफ्नो सेवा प्रवाहमा गुणात्मक सुधार ल्याउन सक्ने विश्वास व्यक्त गरेका छन्।
श्रीलंकाबाट फर्किएपछि मेयर ओझा नेतृत्वको टोलीले यो भ्रमणको प्रतिवेदन नेपाली कांग्रेस नेतृत्व, नेपाल सरकार र सम्बन्धित संघसंस्थालाई बुझाउने तयारी गरिरहेको जनाइएको छ।
यस भ्रमणले नेपालको सांस्कृतिक, धार्मिक र पर्यटन पहिचान अन्तर्राष्ट्रिय स्तरमा फैलाउने प्रयासमा थप गति ल्याउने विश्वास गरिएको छ।