बुटवल, १० बैशाख – भारतको जम्मू-कश्मिरमा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेको शव आज बुटवल ल्याइएको छ।
बुटवल-१४, बेलबरियाका २४ वर्षीय सुदीप न्यौपाने चार दिनअघि आमा, बहिनी र ज्वाइँलाई लिएर कश्मिर घुम्न गएका थिए। दुर्भाग्यवश, उक्त भ्रमणका क्रममा शनिबार भएको आतंकवादी आक्रमणमा परी उनको ज्यान गएको हो।
सुदीपका काका तथा बुटवल-१४ का वडाध्यक्ष दधिराम न्यौपानेले सुदीपको मृत्यु पुष्टि गरेका छन्। सुदीप न्यौपाने परिवारका एक्ला छोरा थिए। उनका बुवा अहिले विक्षिप्त अवस्थामा छन् भने आमाको अवस्था समेत अत्यन्त दुःखद छ।
सुदीप धरानस्थित एक शिक्षण संस्थामा पब्लिक हेल्थ विषयमा अध्ययनरत थिए। अध्ययनकै बीचमा केही दिनको फुर्सद निकालेर आमा रिमा पाण्डे, बहिनी सुष्मा न्यौपाने र ज्वाइँ उज्ज्वल काफ्लेसहित कश्मिर गएका थिए। तर सोही घुमघामको क्रममा एकअर्काे यात्रुका रूपमा देखिएका बन्दूकधारीहरूले उनीहरूलाई लक्षित गर्दै अचानक गोली चलाएका थिए।
घटनामा सुदीपको घटनास्थलमै ज्यान गएको थियो भने उनका परिवारका अन्य सदस्य भने सकुशल छन्।सुदीपको शव आज बिहान बुटवल ल्याइएपछि घरपरिवार, नातागोता, छिमेकी र शुभचिन्तकको भिड लागेको छ। स्थानीय युवाहरू, सामाजिक अगुवा तथा जनप्रतिनिधिहरूले उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
बुटवल-१४ का वडाध्यक्ष दधिराम न्यौपानेले भने, “सुदीप हाम्रो समाजका होनहार युवामध्ये एक थिए। उहाँको असामयिक निधनले हामीलाई स्तब्ध बनाएको छ। हामी दोषीमाथि कारबाहीको माग गर्छौं।”यस घटनाले भारत भ्रमणमा गएका नेपाली पर्यटकहरूका लागि सुरक्षाको गम्भीर प्रश्न उठाएको छ। कुटनीतिक तवरबाट नेपाल सरकारलाई यस्ता घटनाप्रति तत्काल चासो जनाउँदै उचित पहल गर्न नागरिक समाजको माग छ।
यस घटनाले न्यौपाने परिवारलाई मात्र होइन, सम्पूर्ण नेपाली समुदायलाई शोकमा डुबाएको छ।