काठमाडौँ, चैत्र २२।सहकारी ठगी र संगठित अपराध मुद्दामा उच्च अदालत तुल्सीपुर बुटवल इजलासबाट थुनामा राख्न आदेश दिइएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमार्फत आत्मसमर्पणको घोषणा गरेका छन्।
https://youtu.be/d60XAIlNing?si=OBpnTkM3Hg0Me8LO
लामिछानेले शुक्रबार दिउँसो एक भावनात्मक स्टाटस सार्वजनिक गर्दै भनेका छन्, “सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैँ आजै अहिले नै गिरफ्तारी दिँदैछु। साथै न्यायालयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु।”
आफूमाथि अन्याय भएको दाबी गर्दै लामिछानेले समर्थनमा उत्रिएका कार्यकर्तालाई शान्त रहन र पार्टीको पूर्वनिर्धारित चितवन सभा नरोकिन आग्रह गरेका छन्। उनले थप लेखेका छन्, “ममाथि ठुलो अन्याय भएको छ। चितवनको सभा नरोक्नुस्।”
रास्वपाका सभापतिको यस्तो सन्देशले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ। कानुनी जानकारहरूका अनुसार लामिछानेले थुनामा गएपछि मात्र सर्वोच्च अदालतमा उच्च अदालतको आदेश बदरका लागि निवेदन दिन पाउनेछन्।
उनको आत्मसमर्पणको घोषणासँगै अब कानून कार्यान्वयनको प्रकृया अघि बढ्ने देखिएको छ। देशका ठूला सहकारीहरूमा भएको अनियमितता र राजनीतिक तहसम्मको संलग्नताको सन्दर्भमा यो मुद्दा निकै संवेदनशील रूपमा हेरिएको छ।













Leave a Reply