Yes Nepal News

A complete Online News Portal from Nepal

विद्यालय शिक्षा विधेयक हिउँदे अधिवेशनमै पारित गर्न कांग्रेस शिक्षा विभागको माग

काठमाडौं । नेपाली कांग्रेसको शिक्षा विभागद्वारा आयोजित ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक विमर्श कार्यक्रममा सहभागीहरूले विधेयक जुनसुकै हालतमा पनि यही हिउँदे अधिवेशनबाट पारित गरिनुपर्नेमा जोड दिएका छन्।

कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महर नेतृत्वमा आयोजित कार्यक्रममा देशभरका कांग्रेसबाट निर्वाचित मेयर, उपमेयर, पालिका अध्यक्ष तथा उपाध्यक्षको उपस्थिति थियो। स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको सुझाव संकलन गर्दै विधेयकलाई प्रभावकारी बनाउन छलफल गरिएको महरले जानकारी दिए।

‘स्थानीय जनप्रतिनिधिहरूको धारणा र सुझावलाई समेट्दै विधेयकलाई थप परिष्कृत गर्न हामी लागिरहेका छौं। शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन जसरी पनि यो विधेयक ल्याउनैपर्छ भन्ने सबैको मत छ,’ महरले भने।

विमर्श कार्यक्रममा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गुणस्तरीय शिक्षाले समाजलाई सकारात्मक बाटोमा डोर्‍याउने भन्दै प्रभावकारी विद्यालय शिक्षा विधेयकको आवश्यकता औंल्याए। ‘२००७ सालको क्रान्तिपछि नेपालमा शिक्षाको लहर आएको हो। अब समयअनुसारको शिक्षा प्रणाली विकास गर्न आवश्यक छ,’ सिंहले भने।

कांग्रेस शिक्षा विभागले पहिलो चरणमा पार्टी सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेतृत्वसँग छलफल गरिसकेको छ। दोस्रो चरणमा सरोकारवालासँग पार्टी मुख्यालय सानेपामा विस्तृत विमर्श गरिएको हो। पार्टीले सदनमा रोकिएको विद्यालय शिक्षा विधेयक पारित गराउन निरन्तर पहल गरिरहने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading