Yes Nepal News

A complete Online News Portal from Nepal

एचपिभी खोपबाट वञ्चित हुन नदिन सबैको सहयोग आवश्यक : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, २४ माघः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल ले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई वञ्चित हुन नदिन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रुपमा नरहने अवस्थामा पु¥याउने रणनीति लिएका छौँ । सन् २०३० सम्ममा १० देखि १४ वर्षसम्मका ९० प्रतिशतलाई खोप दिने, ३० वर्षमाथिका ९० प्रतिशतलाई पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने र पाठेघरको मुखको क्यान्सर पहिचान भएका ९० प्रतिशतको उपचार गर्ने लक्ष्य छ ।”

क्यान्सरबाट उत्पन्न हुने भार र मृत्युदर घटाउँदै क्यान्सरका बिरामीहरुको जीवनस्तरमा सुधार ल्याउने दुरदृष्टि सरकारको रहेको बताउँदै मन्त्री पौडेलले भन्नुभयो, “नेपालको कुल मृत्युको ११ प्रतिशत हिस्सा क्यान्सरले लिएको छ । फागुन महिनालाई नसर्ने रोगको ‘स्क्रिनिङ’ महिनाको घोषणा गरी पाँच लाखको परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ ।”

यही माघ २२ गतेदेखि सुरु भएको खोप अभियानमा हालसम्म खोपको कभरेज २७.६८ प्रतिशत रहेको बताउँदै हालसम्म चार लाख ६४ हजार ६२ जनाले खोप लगाइसकेको उहाँले जानकारी दिनुभयो ।

सांसद सुमना श्रेष्ठ ले पछि पनि खोप लगाउनलाई बजेट सुनिश्चित छ कि छैन भनी प्रश्न गर्नुभयो । सांसद प्रेम सुवालले स्वास्थ्य बीमाको रकम नपाएको भन्दै अस्पतालले उपचार नगर्दा समस्या भएको बताउनुभयो । सांसद लेखनाथ दाहाल ले गम्भीर प्रकृतिका रोग सस्तो भए पनि उपचार महँगो भएको बताउनुहँुदै सरकारी अस्पताल पहुँचवालाको बन्दै गएकामा जनताको बनाउन माग गर्नुभयो ।

सांसद तोसिमा कार्की ले आवासीय चिकित्सकका समस्या समाधान गर्न माग गर्नुभयो । सांसद हितराज पाण्डे, विनीता कठायत, सीताकुमारी राना, रोशन कार्की, छिरिङ लामा, रामहरि खतिवडा, प्रेमबहादुर महर्जनले मन्त्री पौडेललाई स्वास्थ्यका विविध विषयमा प्रश्न राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Discover more from Yes Nepal News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading