काठमाडौं । आगामी भदौ ७ गते (अगस्ट २३, २०२५) मा हुन गइरहेको नेपाल पर्वतारोहण संघ (NMA) को निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका प्रत्यासी कुलबहादुर गुरुङ को नेतृत्वमा ‘कुल टिम’ घोषणा गरिएको छ ।
‘हिमाल हाम्रो गौरव, नेतृत्व हाम्रो पहिचान, सशक्त संघ र दिगो पर्वतीय पर्यटन’ नारासहित सार्वजनिक गरिएको यस टिमले संघको सुदृढीकरण, पारदर्शी नेतृत्व र पर्वतीय पर्यटनको दिगो विकासलाई प्राथमिकतामा राखेको छ ।
नेतृत्व संरचना र उम्मेदवार सूची
घोषित उम्मेदवारहरूको सूची यसप्रकार छः
- अध्यक्ष – कुलबहादुर गुरुङ
- वरिष्ठ उपाध्यक्ष – टिकाराम गुरुङ
- प्रथम उपाध्यक्ष – मिङमा म्याबु शेर्पा
- द्वितीय उपाध्यक्ष – धनबहादुर गुरुङ
- महासचिव – बिमलकुमार नहकी
- सचिव – डीमा डिकी शेर्पा
- कोषाध्यक्ष – सुमी लामा
सदस्य पदका उम्मेदवार
पुष्कर शाह, बलबहादुर सुयाल, हरिगोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, सुदास लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा, गीता राई र अशोक तामाङ सदस्य पदका लागि उम्मेदवार रहेका छन् ।
हिमाल र पर्यटनको गौरव जोड्ने लक्ष्य
टिमका नेता कुलबहादुर गुरुङले उम्मेदवारी घोषणा कार्यक्रममा भने,
“हामी हाम्रो हिमालको गौरवलाई विश्वभर पुर्याउनेछौं, संघलाई सशक्त र पारदर्शी बनाउनेछौं, र पर्वतीय पर्यटनलाई दिगो, सुरक्षित र समुदायमुखी बनाउने हाम्रो संकल्प छ।”
यस टिमले पर्वतीय पर्यटन व्यवसायसँग जोडिएका सम्पूर्ण सरोकारवालालाई समेट्दै समावेशी नेतृत्व, आधुनिक व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्य लाई मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ ।
निर्वाचनमा उत्साह बढ्दै
एनएमए–२०२५ निर्वाचन नजिकिँदै जाँदा विभिन्न प्यानल तथा उम्मेदवारहरूले प्रचारप्रसार तीव्र बनाएका छन् । पर्वतारोहण क्षेत्रका पेशागत हित, पर्वतीय मार्गहरूको संरक्षण, पर्यटन प्रवर्द्धन र सदस्यहरूको संस्थागत भूमिकाबारे बहस सुरु भएको छ ।
विशेषगरी कुलबहादुर गुरुङ नेतृत्वको ‘कुल टिम’ ले प्रस्तुत गरेको दिगो पर्वतीय पर्यटनको एजेन्डा अहिले संघका सदस्यहरूबीच चासोको विषय बनेको छ ।