लन्डन — संयुक्त अपांग एकता आवाज केन्द्रका संस्थापक तथा अध्यक्ष तिल बहादुर कार्की र समाजसेवी डा. पिया रत्न महर्जन अपांगता भएका बालबालिकाको भवन निर्माणका लागि सहयोग संकलन अभियान अन्तर्गत लन्डन आइपुगेका छन्।
बिहीबार साँझ, लन्डनस्थित हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई वरिष्ठ समाजसेवी नारायण प्रसाद गुरुङ, बेलायतका ख्यातिप्राप्त समाजसेवी तथा संगीतकार जोडी ‘राजशान्ति’ — राजकुमार सुनार र सान्ति सुनार — सहितको टोलीले गर्मजोशीपूर्ण स्वागत गर्यो।
कार्कीका अनुसार, काठमाडौंमा करिब ६० जना अपांगता भएका बालबालिकाको आश्रय, शिक्षा, स्वास्थ्य र आवासको लागि निर्माणाधीन भवनलाई सक्दो छिटो सम्पन्न गर्न आवश्यक सहयोग जुटाउने लक्ष्यसहित उनीहरू यूके आएका हुन्।
“यो भवन निर्माण सम्पन्न भएपछि बालबालिकाहरूको शिक्षा र स्वास्थ्य सेवा अझ व्यवस्थित हुनेछ, साथै सुरक्षित आवासको सुविधा उपलब्ध हुनेछ,” कार्कीले बताए।
अभियानअन्तर्गत उनीहरूले यूकेमा रहेका नेपाली समुदायका अगुवा, समाजसेवी र दाताहरूसँग भेटघाट गरी सहयोग संकलन गर्ने योजना बनाएका छन्।
संयुक्त अपांग एकता आवाज केन्द्रले विगतदेखि नै अपांगता भएका र अनाथ बालबालिकाको शिक्षा, पुनर्स्थापना र आत्मनिर्भरता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल संस्थाले काठमाडौंमा ५६ जना बालबालिकालाई आश्रयसहित शिक्षा प्रदान गरिरहेको छ।
स्वागतका क्रममा राजशान्ति र गुरुङले कार्कीको सामाजिक सेवाप्रति उच्च सम्मान प्रकट गर्दै भवन निर्माण अभियानमा यथासम्भव सहयोग गर्ने दृढ प्रतिज्ञा व्यक्त गरे।