काठमाडौं – बुबाको मृत्युपछि चिसो चुल्हो र आँशु सँगै जीवन धानिरहेकी एक गरीब बालिकालाई उज्यालो भविष्य देखाउने मानवीय प्रयासलाई समाजले विकृत दृष्टिकोणले हेरेको छ।

समाजसेवी ईशा थापा, हेमराज थापा, लक्ष्मी बोगटी कुवर, र हिमाल साउदसहितका केही सहयोगीहरूले ती बालिकालाई गाउँबाट काठमाडौँ ल्याएर शिक्षाको अवसर दिने निश्चय गरेका थिए। आमा स्वयंले बालिकालाई उज्यालो भविष्यका लागि सुम्पेकी थिइन्। तर, यो सहृदय कदमलाई समाजले उल्टै ‘बालिका तस्करी’ को आरोपमा रंग्याउन खोजेको छ।

पीडित पक्षका अनुसार, बालिकाको शिक्षाको अभाव, परिवारको दयनीय अवस्था र सामाजिक बेवास्ताको पृष्ठभूमिमा उनीहरूबाट गरिएको सहयोगलाई अपराध ठानिनु अत्यन्तै पीडादायक र अन्यायपूर्ण हो। “जसले साथ दिन खोजेका थिए, उनैलाई दोषी बनाउने समाजको यस्तो संकिर्ण सोचले सहयोगी मनहरू निरुत्साहित हुन्छन्”, एक सहयोगीले प्रतिक्रिया जनाए।

सहयोग गर्नेलाई शंका गर्ने, जबकि हेरेर बस्नेलाई मौन स्वीकृति दिने प्रवृत्तिलाई लिएर सामाजिक संजालमा व्यापक आलोचना भइरहेको छ। आलोचकहरू भन्छन् – यदि यस्तो प्रयासलाई समेत दोष मानियो भने, गरिबीमै कुहिनु नियति बनाउने हो र?
सामाजिक न्यायको नाममा द्वैध मान्यता र सहयोगीहरूमाथि लगाइएका आधारहीन आरोपहरूको छानबिन हुनु आवश्यक रहेको आवाज उठ्न थालेको छ। यस्ता घटनाहरूले समाजमा साँचो सहयोगको भावना मार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।















Leave a Reply